सुन्धाराको धारा नष्ट गरिएकोप्रति काठमाडौँ महानगरको आपत्ति

हिमाल प्रेस २६ मंसिर २०७९ १५:२६
22
SHARES
सुन्धाराको धारा नष्ट गरिएकोप्रति काठमाडौँ महानगरको आपत्ति धरहरा पुनर्निर्माणका क्रममा सुन्धाराको धारा हटाएर खनिएको पोखरी।

काठमाडौँ– धरहरा पुनःनिर्माणका क्रममा सुन्धाराको मूलधारा नष्ट गरिएकोप्रति काठमाडौँ महानगरपालिकाले आपत्ति जनाएको छ। ०७२ सालको महाभूकम्पले क्षति पुर्‍याएको धरहरा पुननिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएकोमा मेयर बालेन्द्र साह (बालेन)ले आपत्ति व्यक्त गरेका हुन्।

नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रूपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र संरक्षण गरिनुपर्ने उनको भनाइ छ। ‘ऐतिहासिक सम्पदाको संरक्षण गरिनुपर्नेमा यसरी क्षति पुर्‍याइनु गलत छ,’ न्यूरोडस्थित संकटा क्लबमा सोमबार बिहान आयोजित पत्रकार भेटघाटमा मेयर बालेनले भने।

सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई उनले अनुरोधसमेत गरेका छन्।

रमण कन्ट्रक्सन कम्पनीले सुन्धाराको ठीक पछाडि ठूलो खाडल बनाई त्यहाँ १ लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्यवस्तु (काठको लामो पाइप) नष्ट हुनगएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा २२ का अध्यक्षको सक्रियतामा उक्त निर्माण कार्यको विरोध भएको थियो।

सयौं वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको भन्दै छलफलका क्रममा सम्पदा अभियन्ताहरूले पनि आपत्ति जनाएका छन्।

मेयर बालेनले सुन्धाराको मुख्यधारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पारेका छन्। सो अवसरमा प्रमुख साह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुन्धारास्थित ट्यांकी निर्माण भइरहेको स्थलमा अवलोकन गरी सम्पूर्ण निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिएका छन्।

रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै सो ट्यांकी निर्माणकार्य अघि बढाएको जानकारी दिँदै हाललाई निर्माणकार्य रोक्न कामदारलाई निर्देशन दिइएको बताए।

सो अवसरमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन र संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलगायतले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ। ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति करिब २ सय वर्षअघि भीमसेन थापाको पालामा बनेको भनिएता पनि सो पानीको मूल भने चार-पाँच सय वर्षभन्दा पुरानो भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =