आर्थिक-सामाजिक विकासका लागि बी आर आई महत्त्वपूर्ण : साउदी

हिमाल प्रेस २४ मंसिर २०७९ १६:५१
6
SHARES
आर्थिक-सामाजिक विकासका लागि बी आर आई महत्त्वपूर्ण : साउदी

काठमाडौँ– साउदीका उद्योग तथा खनिज सम्पदामन्त्री बन्दर अल्खोरायफले चीनले अघिसारेको बेल्ट एन्ड रोड इनिसिएटिभ साउदीको आर्थिक र सामाजिक विकासका निम्ति उपयोगी हुने बताएका छन्। अल्खोरायफले सिन्ह्वासँगको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन्।

आफ्नो देशको ‘भिजन २०३०’ लाई अघि बढाउन तथा उन्नत विज्ञान र प्रविधिबीच तालमेल मिलाउन चिनियाँ परियोजना फलदायी हुने उनको भनाइ छ। अर्थतन्त्र र व्यापारका क्षेत्रमा दुई देशबीचको सहकार्य एवम् साझेदारीको महत्त्वमा जोड दिँदै प्रचुर मात्रामा खनिज सम्पदा भएको आफ्नो देश र नवप्रवर्तन तथा उच्च प्रविधिको विकासमा अग्रपंक्तिमा रहेको चीनसँगको सहकार्यबाट खनिज स्रोतको विकासमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे।

दुवै मुलुकको साझेदारीबाट खनिजको अधिकतम दोहनका साथै अर्थव्यवस्थामा विविधीकरण, अर्धतयार वस्तुको उत्पादन, प्रशोधन एवम् निर्यात बढाउन सहज हुनेमा उनले जोड दिए।

चिनियाँ कम्पनीहरूको प्रभावशाली प्रदर्शन र अनुभवलाई आफ्नो देशका युवा तथा महिलामा हस्तान्तरण गर्नसके पारस्परिक लाभका धेरै क्षेत्रमा सहकार्य बढ्नसक्ने उनले बताए। साथै उनले द्विपक्षीय सहयोग प्रवर्द्धनको अथाह सम्भावना रहेका बताए।

ऊर्जा र खानी उद्योगबाहेक अनुपम भौगोलिक अवस्थिति एवम् पूर्णपूर्वाधार भएको साउदी अरबमा फस्टाउँदै गरेको ‘स्टार्टअप’ मा लगानी गरेर मध्यपूर्व र उत्तर अफ्रिकामा व्यापार विस्तार गर्ने महत्त्वपूर्ण केन्द्र बनाउन सकिने भन्दै उनले आफ्नो देशको रेलमार्ग, बन्दरगाह र एक्सप्रेसवे निर्माणमा सहभागी हुन आह्वान गरे।

मन्त्री अल्खोरायफले भाषा शिक्षा र व्यावसायिक तालिमजस्ता जनता-जनताबीच आदान-प्रदानमा साझेदारी विस्तार गर्न दुवै पक्षलाई आग्रह गरे। चीन आर्थिक क्षेत्रमा मात्रै नभएर अन्य धेरै क्षेत्रमा पनि साउदीको महत्त्वपूर्ण साझेदार भएको उनले बताए।

चीनले अघि सारेको विश्वको विकास प्रयासको प्रशंसा गर्दै साउदी मन्त्रीले हाल विश्वले सामना गरिरहेका धेरै चुनौतीको सामना कुनै पनि देश एक्लैले गर्न नसक्ने र त्यसका निम्ति आपसी सहयोग आवश्यक पर्ने उनले उल्लेख गरे। साउदी-चीनबीच आपसी सहयोगबाटै विकासका लक्ष्य हासिल गर्न सहज हुने उनले बताए।

प्रकाशित: २४ मंसिर २०७९ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =