अर्थतन्त्र विकासका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक : राष्ट्रपति भण्डारी

हिमाल प्रेस २३ मंसिर २०७९ १९:३९
6
SHARES
अर्थतन्त्र विकासका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक : राष्ट्रपति भण्डारी फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवर्द्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिएकी छन्। शुक्रबार नेपाल हस्तकला महासंघले काठमाडौँमा आयोजना गरेको १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएकी छन्।

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ छ। राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै नेपालको पहिचान एवम् गरिमालाई अन्तर्राष्ट्रियरूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।

नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निर्यात प्रवर्द्धन गर्न सकेमात्र मुलुकको चुलिँदो व्यापार घाटा कम गर्न सकिने उनले धारणा व्यक्त गरिन्।

मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्दै उनले देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेटी नेपाली हस्तकलाका सामग्रीलाई व्यापक विस्तार गरिनुपर्नेमा जोड दिइन्।

हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादन प्रोत्साहनका लागि सरकारले विशेष प्राथमिकता दिएको भन्दै राष्ट्रपति भण्डारीले यसबाट स्वदेशी हस्तकलालगायत उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकलाको निर्यात प्रवर्द्धन गरी बढ्दो व्यापारघाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिए।

उनले नेपाली मौलिक हस्तकलामार्फत पर्यटन प्रवर्द्धनका योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने धारणा राखे। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तकलाको प्रवर्द्धन विकास गर्न महासंघले खेलेको भूमिकाको सराहना गर्दै नेपाली हस्तकलासम्बन्धी नीतिगत सुधार र नेपाली उत्पादनको उपभोग बढाउन जरुरी रहेको बताए।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालको मौलिक व्यवसायको प्रवर्द्धनका लागि लामो समयदेखि मेलाको आयोजना गरिँदै आएको जानकारी दिए।

मेलामा एउटै छातामुनि हस्तकला प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर गरिने शाक्यले बताए। मंसिर २७ गतेसम्म सञ्चालन हुने मेलामा चारवटा प्याभिलियनसहित करिब १ सय ३० स्टल रहने आयोजकले जनाएको छ।

महासंघका अनुसार हाल करिब १२ अर्ब रुपैयाँ बराबरका हस्तकला विश्वका ६० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ। वार्षिक कुल २४ अर्ब रुपैयाँ हाराहारीको हस्तकलाको कारोबार हुने गरेको छ। यस्तै हस्तकला उद्योग व्यवसायमा करिब ८ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + four =