जनप्रतिनिधि र कर्मचारीले ऋण नतिर्दा बचतकर्ता मर्कामा

हिमाल प्रेस १७ मंसिर २०७९ २०:०६
12
SHARES
जनप्रतिनिधि र कर्मचारीले ऋण नतिर्दा बचतकर्ता मर्कामा

काठमाडौँ– जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण समयमै नतिर्ता बचतकर्ताहरू मर्कामा परेका छन्। स्थानीय जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै ऋण नतिर्दा बचतकर्ता समस्यामा परेका हुन्।

हाल गोकर्णेश्वर नगरपालिका ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला ०६९ साल असोज १६ मा श्रीमती राधा राईका नाममा १६ लाख ३० हजार २ सय ८६ रुपैयाँ ऋण लिएका थिए।

लामाले लिएको ऋणको अवधि ०७० साल असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिरेका छनन्। लामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा सदस्य पदमा निर्वाचित थिए।

यसबारे ऋणी लामाकी श्रीमती राईलाई सम्पर्क गर्दा श्रीमानसँग नै यस विषयमा कुरा गर्नुपर्ने बताए। राईले दिएको नम्बरमा पटक-पटक लामासँग प्रतिक्रियका लागि सम्पर्क गर्दा सम्पर्क हुन नसकेको संस्थाले जनाएको छ।

मञ्जुश्री सहकारीको ऋण नतिर्ने लामा एक्ला जनप्रतिनिधि भने होइनन्।

नगरपालिका ५ का वडा सदस्य श्रीबहादुर योगीले पनि उक्त सहकारीको ऋण तिरेका छैनन्। ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा निर्वाचित भएका योगीले ०७६ असार ३१ गते एक लाख ८१ हजार चार सय १६ रुपैयाँ ऋण लिएका थिए।

०७६ पुस २८ गतेभित्र नै योगीले सहकारीलाई ऋण चुक्ता गर्नुपर्ने मिति रहे पनि सो मितिमा उनले ऋण तिरेका छैनन्। लामा र योगीलाई पटक-पटक पत्र काट्दा पनि ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख विजय तामाङले गुनासो गरे।

‘जनप्रतिनिधिले नै सहकारीको ऋण नतिरेपछि अरूले दिन मानिरहेका छ्र्रैनन्, सहकारीका बचतकर्ता भने कार्यालयमै आएर धर्ना दिन थालेका छन्, बचतकर्ताको पैसा खाएर भाग्ने हाम्रो नियत छैन,’ उनले भने।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५ का वडाध्यक्ष राजु रायमाझीले पनि सहकारीसँग लिएको ऋण नतिरेको अभिलेख देखिन्छ।

रायमाझीले ०७२ साल भदौ १६ गते तीन लाख २० हजार ४ सय ९० रुपैयाँ ऋण लिएका थिए। रायमाझी पनि ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका हुन्।

ऋण तिर्न रायमाझी, योगी र लामालाई पटक-पटक पत्राचार गरेको सहकारीको अभिलेखमा उल्लेख छ। तीनै जना जनप्रतिनिधिसँग प्रतिक्रियाका लागि पटक-पटक सम्पर्क गर्दा पनि उहाँहरू सम्पर्कमा आउन चाहेनन्।

पछिल्लो समय देशका धेरै स्थानमा सहकारी संस्थाबाट ऋण लिएर तोकिएको समयमा नतिर्नेको संख्या बढेको देखिएको छ। -रासस

प्रकाशित: १७ मंसिर २०७९ २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =