मेक्सिकोका प्रशिक्षक मार्टिनोले राजीनामा दिने

हिमाल प्रेस १५ मंसिर २०७९ १०:३०
12
SHARES
मेक्सिकोका प्रशिक्षक मार्टिनोले राजीनामा दिने

काठमाडौँ- मेक्सिकोलाई विश्वकपको नकआउट चरणमा पुर्‍याउन नसकेपछि प्रशिक्षक जेरार्डो मार्टिनोले पद त्याग गर्ने घोषणा गरेका छन्। समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई हराए पनि मेक्सिको नकआउट चरणमा पुग्न सकेन।

समान चार अंक भए पनि गोल भिन्नतामा मेक्सिकोलाई पछि पार्दै पोल्यान्ड समूह उपविजेता बनेर अर्जेन्टिनासँगै नकआउट चरणमा पुग्यो। पोल्यान्डले तीन खेलमा दुई गोल खायो भने दुई गोल गर्न सक्यो। उता मेक्सिकोले दुई गोल नै गरे पनि तीन गोल खायो।

मेक्सिको सन् १९७८ यता पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो। सन् १९८२ को विश्वकपमा छनोट नभएको मेक्सिको सन् १९८६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। प्रतिबन्धका कारण चार वर्षपछिको विश्वकप खेल्न नपाएको मेक्सिकोले सन् १९९४ बाट भने लगातार समूह चरण पार गर्दै आएको थियो।

‘मेक्सिकोको यो असफलताको जिम्मेवारी म लिन्छु। म असाध्यै दुःखी भएको छु,’ तीन वर्षअघि मेक्सिकोको प्रशिक्षक बनेका मार्टिनोले भने,‘यो खेल सकिएपछि मेक्सिकोसँगको मेरो यात्रा अन्त्य भएको छ।’

मेक्सिकोले पोल्यान्डसँग गोलरहित बराबरी खेल्दै विश्वकपको सुरुवात गरेको थियो। दोस्रो खेलमा अर्जेन्टिनासँग २–० को हार व्यहोरेपछि मेक्सिकोलाई अन्तिम खेलमा विशाल अन्तरको जित चाहिएको थियो। तर साउदीविरुद्ध उसले दुई गोल मात्र गर्न सक्यो।

मेक्सिकोका लागि हेनरी मार्टिन र लुइस चाभेजले एक–एक गोल गरेका थिए। साउदीका सालेम अल डावसरीले दोस्रो हाफको आतिरिक्त समयमा एक गोल फर्काए। कमसेकम तीन गोल गरेर जित्न आवश्यक रहेको खेलमा एक गोल खाएपछि मेक्सिकोको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको थियो।

‘हामीले साउदीविरुद्ध राम्रो प्रदर्शन गरेको हो। गोलका अवसर पनि सिर्जना भए। तर गोल थप्न भने सकेनौँ,’ मार्टिनोले भने।

प्रकाशित: १५ मंसिर २०७९ १०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =