उखु किसानका अध्यक्षले सरकारलाई भने : हामीलाई किसान नै भएर बाँच्न देऊ

हिमाल प्रेस १४ पुष २०७९ १८:१५
4
SHARES
उखु किसानका अध्यक्षले सरकारलाई भने : हामीलाई किसान नै भएर बाँच्न देऊ

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन सरकारसमक्ष आग्रह गरेका छन्। उनले देशलाई कृषि प्रधान देश भनिए पनि उद्योग प्रधान देश बनेको टिप्पणी गरे। उनले उखु किसानका धेरै समस्या रहेको भन्दै समस्या समाधानका निम्ति सरकारले चासो नदिएको उनको भनाइ छ।

सरकारले समयमै मल र उद्योगले भुक्तानी नदिँदा किसानलाई समस्या थपिएको उनी बताउँछन्। अध्यक्ष मैनालीले आफूहरूले उखु शून्य मुल्यमा बेच्न बाध्य भएको सुनाए। मैनालीले उखु खेतीका लागि बैंकमा ऋण लिन जाँदा खेतको चिसो सकिएपछि ऋण स्वीकृति हुने गरेको भन्दै सोही कारण उत्पादन बढाउन नसकिएको गुनासो गरे।

उखु किसानका समस्याहरू समाधान हुन नसक्दा उखु किसान उखु खेतीबाटै पलायन हुने गरेको उनको भनाइ छ। उचित मूल्य नपाउँदा किसानलाई उखु खेती नगर्न आह्वान गर्नुपर्ने अवस्था आएको उनले बताए। उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार दीगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरूको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरुले समस्याको समाधान दीर्घकालिन रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उखु किसानहरुको समस्यालाई बारम्बार बल्झाउनु नहुनेमा सांसदहरुले जोड दिएका छन्। राष्ट्रियसभा सदस्य वामदेव गौतमले नगदेबालीको रुपमा रहेका उखु लगायतका बालिहरुलाई व्यक्तिगत रुपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताए।

उनले उखुबालीलाई सामुहिक उत्पादन गर्नुपर्ने बताउनु भयो। उखु उत्पादन व्यवस्थित रुपमा नभएको भन्दै उनले उखु उत्पादनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। त्यस्तै चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ। देशमा चिनीको कति खपत हुन्छ भन्ने निक्र्यौल गरेर उपभोग गर्न पुग्नेगरी देशमै उत्पादन गर्नुपर्ने उनले बताए।

त्यसैगरी राष्ट्रियसभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भएपनि यसप्रति सरकार गम्भिर नभएको बताइन्।पन्तले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडी बढाउन सके राम्रो हुने धारणा व्यक्त गरिन्। निजी क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उनको जोड छ।

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको बताइन्। राष्ट्रियसभाका अर्का सदस्य भुवनबहादुर सुनारले किसानहरू उखु उत्पादनका लागि प्रोत्साहित हुन नसकेको बताए। देशभित्रका किसानलाई उखु खेतीमा प्रोत्साहित गर्न र देशलाई आर्थिक रुपमा सबल बनाउन देश बाहिरबाट नीति आयात हुन नदिने नीति बनाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १४ पुष २०७९ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =