डच फरवार्ड गाक्पो अब लिभरपुलमा

हिमाल प्रेस १२ पुष २०७९ १२:२२
8
SHARES
डच फरवार्ड गाक्पो अब लिभरपुलमा

काठमाडौँ- लिभरपुलले डच फरवार्ड कोडी गाक्पोलाई अनुबन्ध गर्ने भएको छ। गाक्पो आउँदो जनवरीमा लिभरपुल जाने उनी आबद्ध पीएसभी आन्डहोभनले सोमबार राति जानकारी दिएको हो। कतार विश्वकपमा नेदरल्यान्ड्सका लागि तीन गोल गरेका गाक्पो युरोपियन फुटबलमा उदाइरहेका युवा प्रतिभामध्येका मानिन्छन्।

लेफ्ट विंगमा खेल्ने गाक्पो गत सिजनबाटै युरोपका ठूला क्लबको नजरमा परेका थिए। त्यस बेला डच लिग एरिडेभिजेमा २७ खेलमा १२ गोल तथा १३ असिस्ट दर्ता गरेका गाक्पोको लय यसपालि झनै सुदृढ बनेको छ। यो सिजन उनले १४ खेलमा नौ गोल गरिसकेका छन्। उनको नाममा १२ असिस्ट पनि छ।

गाक्पो विश्वकपअघि नै म्यानचेस्टर युनाइटेडसँग जोडिएका थिए। कतारमा तारिफायोग्य प्रदर्शन गरेपछि त युनाइटेडले उनलाई अनुबन्ध गर्न चाहेको खबर प्रत्येक दिन आइरहेका थिए। तर आखिरमा युनाइटेडको प्रतिद्वन्द्विी लिभरपुलले बाजी मारेको छ।

‘पीएसभी र लिभरपुलबीच गाक्पोको स्थान्तरणका विषयमा सहमति भएको छ। २३ वर्षीय फरवार्ड तत्कालै इंग्ल्यान्ड जानेछन् र स्थान्तरण टुंग्याउन आवश्यक औपचारिक प्रक्रिया पूरा गर्नेछन्,’ पीएसभीले विज्ञप्तीमा भनेको छ।

पीएसभीले गाक्पोका लागि लिभरपुलले तिर्ने स्थान्तरण रकम खुलाएको छैन। तर डच सञ्चारमाध्यमहरुका अनुसार यो रकम पाँच करोड युरो हुनेछ। पीएसभीका जनरल म्यानेजर मार्सेल ब्रान्ड्सले लिभरपुलले तिर्ने रकम डच क्लबको इतिहासमै सर्वाधिक ठूलो स्थान्तरण रकम हुने बताएका छन्।

इंग्लिस प्रिमियर लिगमा छैटौँ स्थानमा रहेको लिभरपुलले पछिल्लो समय युवा फरवार्डहरूलाई अनुबन्ध गरिरहेको छ। गत जुलाईमा उसले डार्विन नुनेजलाई अनुबन्ध गरेको थियो। बेनफिकाबाट उनलाई भित्र्याउनुअघि लिभरपुलले पोर्चुगलकै एफसी पोर्टोबाट लुइस डियाज खरिद गरेको थियो।

प्रकाशित: १२ पुष २०७९ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =