प्रधानमन्त्री प्रचण्डसहित आठ मन्त्रीले लिए शपथ

हिमाल प्रेस ११ पुष २०७९ १६:३०
228
SHARES
प्रधानमन्त्री प्रचण्डसहित आठ मन्त्रीले लिए शपथ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रचण्डले शपथ लिएका हुन्। त्यसपछि अन्य मन्त्रीहरूले शपथ लिएका थिए।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन्।

त्यस्तै एमालेका ज्वाला साह,  दामोदर भण्डारी, राजेन्द्र राई‍  र जनमत पार्टीका अब्दुल खान  मन्त्री बनेका छन्। मन्त्रीहरूको कार्यभार पछि तोकिने राष्ट्रपतिको कार्यालयले जनाएको छ।  साहबाहेकका सांसदले एकै साथ शपथ लिएका थिए। साह भने ढिलो आएका कारण उनलाई राष्ट्रपतिले पछि एक्लै शपथ गराइन्।

शपथ ग्रहण समारोहमा प्रचण्ड पहिलो पटक राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर पुगेका थिए। राष्ट्रपति भण्डारीले दिएको एकहप्ते समयसीमामा प्रधानमन्त्री पदको लागि प्रचण्डको मात्रै दाबी परेको थियो। सोहीअनुसार उनी आइतबार नियुक्त भए र  आज सोमबार उनले शपथ लिए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, मन्त्रिपरिषद्‌का अध्यक्ष, संविधानसभाका अध्यक्ष विभिन्न राजनीति दलका नेतृत्वलगायत सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =