पाकिस्तानी विदेशमन्त्रीको हत्या गर्नेलाई इनाम दिने भाजपा नेताको घोषणा

हिमाल प्रेस ५ पुष २०७९ १५:४०
6
SHARES
पाकिस्तानी विदेशमन्त्रीको हत्या गर्नेलाई इनाम दिने भाजपा नेताको घोषणा

काठमाडौँ– भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक नेताले पाकिस्तानी विदेशमन्त्री बिलावाल भुट्टोको हत्या गर्नेलाई दुई करोड भारु नगद पुरस्कार दिने घोषणा गरेका छन्। उत्तर प्रदेशको बाघपाट जिल्ला पञ्चायतका सदस्य रहेका मनुपाल बंशलले यस्तो घोषणा गरेको त्यहाँको अखबार टाइम्स अफ इन्डियाले लेखेको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा गत बिहीबार भुट्टोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको टिप्पणीका कारण भाजपा कार्यकर्ताहरू रुष्ट बनेका छन्। छिमेकी पाकिस्तानका विदेशमन्त्री भुट्टोविरुद्ध भाजपाले देशव्यापी प्रदर्शन गरिरहेको छ। यहीबीचमा भाजपाका स्थानीय नेता बंशलले यस्तो घोषणा गरेको हुन्।

सुरक्षा परिषद्मा आतंकवाद सम्बन्धी छलफलमा भारत र पाकिस्तानबीच आरोपप्रत्यारोप चलेको थिए। त्यहीबेला भुट्टोले भारतीय प्रधानमन्त्री मोदी ‘कसाई’ रहेको अभिव्यक्ति दिएका थिए। सन् २००२ मा गुजरात हिंसाको कुरा निकाल्दै भुट्टोले मोदी सिंगो भारतको नभई राष्ट्रिय स्वयंमसेवक संघ (आरएसएस) को प्रधानमन्त्री भएको आरोप लगाएका थिए।

‘आरएसएस महात्मा गान्धीको हत्यारालाई समर्थन गर्छ। भारतका लागि सबै मुस्लिम आतंकवादी हुन्, चाहे ती पाकिस्तानी मुस्लिम हुन् वा भारतीय मुस्लिम। म भारतका विदेशमन्त्रीलाई के सम्झना गराउन चाहन्छु भने ओसामा बिन लादेनको मृत्यु भइसक्यो तर गुजरातका कसाई अहिले पनि जिउँदै छन्। र उनी भारतको प्रधानमन्त्रीको कुर्सीमा छन्,’ भुट्टोको टिप्पणी थियो।

भुट्टोविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै बंशलले इनामको घोषणा गरेका थिए। ‘जसले बिलावाल भुट्टोको शरीरबाट टाउको अलग गर्नसक्छ, त्यसलाई दुई करोड इनाम दिनेछु,’ बंशलले भने।

पार्टी कार्यकर्ताको भिडमा गरेको घोषणामा आफू अडिग रहेको बंशलको भनाइ छ। ‘हो मैले यस्तो घोषणा गरेको हुँ। यदि उनीहरू हाम्रो प्रधानमन्त्रीविरुद्ध तल्लो स्तरको टिप्पणी गर्छन् भने हामी सहदैनौँ। मोदीको नेतृत्वमा भारतले तरक्की गरेको छ। यसकारण उहाँका लागि हामी जे पनि गर्न तयार छौँ,’ बंशलले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्दै भनेका छन्।

प्रकाशित: ५ पुष २०७९ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =