कार्यकारीमा दोहोरिने र फ्याँक्ने कसरतमा यी नेता

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:३७
कार्यकारीमा दोहोरिने र फ्याँक्ने कसरतमा यी नेता

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति आउन चार दिन बाँकी छ। मतगणनाको अन्तिम नतिजा आइसकेपछि नयाँ सरकार गठन हुनेछ। अब नयाँ सरकार कसको नेतृत्वमा बन्ला भन्ने जिज्ञासा पनि उठ्न थालेको छ।

प्रतिनिधिसभा सदस्यमा दलले दिएको उम्मेदवारीलाई हेर्ने हो भने कुनै एउटा दलले मात्र बहुमत ल्याउने सम्भावना न्यून छ। प्रत्यक्षतर्फको १६५ सिटमा एमालेले सबैभन्दा बढी १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ। तर कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन गरेर उम्मेदवारी दिएकाले एमालेले ती सबै क्षेत्रमा चुनाव नजित्न सक्छ।

त्यसैले आगामी सरकार पनि एकभन्दा बढी दल मिलेर बनाउने निश्चित छ। सत्ता गठबन्धनका नेताहरूको भनाइलाई आधार बनाउने हो भने चुनावपछि पनि गठबन्धन कायम हुनेछ। तर जनताले कुन दललाई रुचाउँछन् र जनमत कस्तो आउँछ, त्यसले नै सत्ता गठबन्धन वा विपक्षी गठबन्धनको मात्रै होइन, चुनावमा भाग लिने हरेक दलको हैसियत देखिनेछ। यस्तो अवस्थामा केही नेताहरूले आफू भावी राष्ट्रपति र प्रधानमन्त्री भनेर चुनाव प्रचार गरिरहेका छन्। त्यसरी दाबी गर्ने नेताहरू यी हुन्:

केपी शर्मा ओली 

एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावी अभियानमा सक्रिय भएको छ। प्रमुख दलमध्ये एमालेले नै भावी प्रधानमन्त्री तोकेर चुनावी अभियान सञ्चालन गरेको हो।

सोही आधारमा ओलीले यसअघि आगाडि सारेको  ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई एमालेले यसपटक पनि अघि सारेको छ। दुईपटक प्रधानमन्त्री भइसकेका ओलीले आफ्नो चुनावी अभियानमा पनि समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प पूरा गर्न एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताउँदै आएका छन्।

एमालेमा अहिलेका लागि ओलीबाहेक प्रधानमन्त्री या राष्ट्रपति पदमा दाबी गर्न कुनै नेता अघि सरेका छैनन्। ओली झापा निर्वाचन क्षेत्र ५ बाट चुनावी मैदानमा छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ 

प्रधानमन्त्रीका लागि दाबी गर्ने अर्का नेता हुन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनले केही दिनअघि गोरखामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै आफू प्रधानमन्त्री बन्ने बताएका थिए। उनले कांग्रेसका सुरेन्द्र पाण्डेलाई गण्डकीको मुख्यमन्त्री बनाउने र आफू प्रधानमन्त्री बन्ने बताएका हुन्।

दाहालले भनेका थिए, ‘देशको नेतृत्व मैले गर्ने सम्भावना छ। सुरेन्द्रजी त मुख्यमन्त्री बन्ने पक्का भइसक्नु भएको छ।’ दाहाल गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् भने पाण्डे २ (ख) मा प्रदेशसभा सदस्य उम्मेदवार छन्।

तर दाहालले तनहुँ पुगेर भाषण गर्दा भने रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका थिए। उनले सोमबार तनहुँमा रामचन्द्र पौडेलको चुनावी सभामा सम्बोधन गर्दै भने, ‘रामचन्द्रजीको इच्छा र चाहना सबैलाई थाहा छ। यहाँबाट जिताएर पठाउनुभयो भने उहाँको प्रधानमन्त्री बन्ने सम्भावना छ।’ यस्तै उनले सोही सभामा तनहुँ १ (ख) बाट माओवादी नेता हरिबहादुर चुमानलाई चुनाव जिताए मुख्यमन्त्री बनाउने बताए।

दाहालले बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कसले नेतृत्व कति समय लिन्छ वा लिँदैन भन्ने नै मुख्य प्रश्न रहेको बताएका छन्। दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रस्ताव गरे पछि नहट्ने बताएका छन्। उनले भने,  ‘उहाँ (देउवा) ले गम्भीर ढंगले भन्नुभयो भने म पनि मान्छु। यो गठबन्धन कमजोर हुने गरीकन हामी प्रधानमन्त्रीलाई मुख्य बनाउँदैनौँ।’ उनले देउवा र आफूबीच आलोपालो प्रधानमन्त्री सम्भावना रहेको पनि संकेत गरेका छन्।

गगन थापा

भावी प्रधानमन्त्रीका लागि दाबी गर्ने अर्का नेता हुन् कांग्रेस महामन्त्री गगनकुमार थापा। काठमाडौँ निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थापाले आफ्नो चुनावी अभियानको मुख्य मुद्दा नै देशको कार्यकारी बन्ने बताउँदै आएका छन्। अब पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री नबनाउने दाबी उनको छ।

प्रधानमन्त्री बन्नका लागि आफूले योजनाबद्ध ढाँचामा काम गरिरहेको उनी बताउँछन्। उनले भनेका छन्, ‘राजनीतिलाई अब पनि पुरानै पुस्तामा छोड्ने हो भने हामीले कहिलेसम्म संसद्‍मा जानका लागि मतदातालाई भनिरहने? मतदाताले अब नयाँ अनुहार दिने समय भएन भनेर सोध्दा के जवाफ दिने? नयाँ पुस्ताले कम्तीमा दुई कार्यकाल अघि बढ्ने लक्ष्य लिनैपर्छ।’

शशांक कोइराला

कांग्रेसका पूर्वमहामन्त्री रहेका शशांक कोइरालाले पनि आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्। उनले राजनीति गरेपछि कार्यकारी पदमा पुग्ने चाहना सबैको हुने बताएका छन्। कोइरालाले भनेका छन्, ‘राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो पदमा जाने चाहना छ मेरो पनि छ। म प्रधानमन्त्री बन्न बलियो दाबी गर्ने व्यक्ति हुँ।’ उनले शेखर कोइराला पनि प्रधानमन्त्रीका लागि प्रत्यासी रहेको बताए। तर शेखरले आफू प्रधानमन्त्री या अन्य पदका लागि दाबी गरेको अभिव्यक्ति बाहिर आएको छैन।

शशांकले भनेका छन्, ‘मलाई के लाग्छ भने मेरो योगदानका आधारमा र हरेक हिसाबले म अहिले बलियो उम्मेदवार हुँ।’ उनी नवलपरासी पूर्व–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन्।

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि आफू राष्ट्रपति र प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन्। उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु।’ उनले निर्वाचनपछि आफूलाई राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने नभएको बताए।

खनाल इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन्।

उनले भने, ‘मसँग अनुभव छ, देश बनाउने योजना छ। त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पु¥याउनेछु।’

शेरबहादुर देउवा

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीमा दोहोरिन अभिव्यक्ति त दिएका छैनन्। तर सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री बन्न सक्ने संकेत गरेकाले चुनावपछि पनि प्रधानमन्त्रीमा देउवा दोहोरिने सम्भावना छ। तर कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने भावी प्रधानमन्त्री पनि देउवा नै हुने बताएका छन्। उनले भनेका छन्, ‘गठबन्धनले बहुमत ल्याउँछ। कांग्रेस ठूलो दलमा आउने भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्छ। कांग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवाकै निरन्तरता हुन्छ।’

माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्पष्ट रूपमा आफूले प्रधानमन्त्रीमा दाबी गरेका छैनन्। तर, कान्तिपुरको एक टेलिभिजन कार्यक्रममा उनले नेतृत्वको विषय समयले माग गर्ने बताएका थिए। ‘हाम्रो पार्टीमा को हुने प्रधानमन्त्री भनेर भनेका छैनौँ,’ उनले भनेका थिए, ‘मैले म भन्नुभन्दा पनि जनता, पार्टीहरू र समयले मूल्यांकन गर्ने हो। कसैले खोजेर सोचेर चाहेर पनि हुँदो रहेनछ।’

प्रकाशित: ३० कार्तिक २०७९ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =