कतार विश्वकप : पोर्चुगलको टिममा १९ वर्षीय सिल्भादेखि ३९ वर्षका पेपेसम्म

हिमाल प्रेस २५ कार्तिक २०७९ ४:३९
कतार विश्वकप : पोर्चुगलको टिममा १९ वर्षीय सिल्भादेखि ३९ वर्षका पेपेसम्म

काठमाडौँ- कतार विश्वकपका लागि पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा २६ सदस्यीय टिम घोषणा गरेको छ। बिहीबार साँझ घोषित टिममा कप्तान रोनाल्डोसँगै एट्लेटिको म्याड्रिडका जोआओ फिलिक्स र एसी मिलानका राफाएल लिआओ पनि छन्।

म्यानचेस्टर युनाइटेडमा यो सिजन मुख्य फरवार्ड बन्न नसकिरहेका रोनाल्डो राष्ट्रिय टिमका लागि भने स्वतः पहिलो रोजाइ हुन्। प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोसहित सबै खेलाडीमा विश्वकप जित्ने भोक रहेको बताएका छन्। सन् २०१६ मा युरो जितेको पोर्चुगल विश्वकपको फाइनलमा पुगेको छैन।

पोर्चुगलका लागि ११७ गोल गरेका रोनाल्डोका लागि यो पाँचौँ विश्वकप हुनेछ। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडी रोनाल्डोले सन् २००६ यता विश्वकपको प्रत्येक संस्करण खेलेका छन्।

पोर्चुगललाई युरो विजेता बनाएका सान्तोसले पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर रेनाटो सान्चेजलाई भने टिममा राखेका छैनन्। उनको स्थानमा उल्भरह्याम्पटनका म्याथ्युस नुनेजले मौका पाएका छन्।

‘जाे विश्वकप खेल्न योग्य छन्, उनीहरूलाई टिममा राखिएको छ। टिम छनोट गर्दा कसैप्रति अन्याय गरिएको छैन,’ सान्तोसले भनेका छन्।

सान्तोसले पोर्चुगलको टिममा युवा र पाका खेलाडीलाई उत्तिकै मौका दिएका छन्। रक्षापंक्तिमा उनले १९ वर्षीय एन्टोनियो सिल्भादेखि ३९ वर्षीय पेपेसम्मलाई समेटेका छन्। बेनफिकाका सिल्भा पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।

एफसी पोर्टोका ‘भेट्रान’ पेपेले भने घुँडाको चोटका कारण अक्टोबर ४ बाट खेलेका छैनन्। नोभेम्बर २० बाट सुरु हुने विश्वकपका लागि उनी तयार हुने अपेक्षाा गरिएको छ।

लिभरपुलका स्ट्राइकर डिएगो जोटा भने टिममा छैनन्। उनले चोटका कारण विश्वकप गुमाउने भएका हुन्। पाेर्चुगलका लागि रोनाल्डोपछि सर्वाधिक पटक खेल्ने जोआओ मउटिन्हो र गोन्सालो गुएडेस पनि टिममा छैनन्। यी दुवै खेलाडी निरन्तरमा टिममा पर्दै आएका खेलाडी हुन्।

पोर्चुगल समूह ‘एच’ मा छ। उसले पहिलो खेलमा घाना, दोस्रोमा उरुग्वे र तस्रोमा दक्षिण कोरियाको सामना गर्नेछ। पहिलो खेल नोभेम्बर २१ मा हुनेछ।

सान्तोसले विश्वकप आयोजना मितिलाई लिएर फिफाको आलोचना गरेका छन्। तर खेलका लागि कतारभित्र कम यात्रा गर्नुपर्ने विषयमा भने खुसी व्यक्त गरे।

‘यो समयमा विश्वकप आयोजना गर्नु कसैका लागि पनि राम्रो होइन। खेलाडी, क्लब, राष्ट्रिय टिम सबैका लागि घाटा हो। यो विश्वकपमा सन्तुष्ट हुने पक्ष रंगशालाहरूबीचको दूरी हो। एउटा रंगशालाबाट अर्कोमा जान धेरै समय लाग्दैन। लामो यात्रा गर्नु परे झन्झट हुने थियो,’ सान्तोसले भनेका छन्।

पोर्चुगलको टिमः 
गोलरक्षक : डिएगो कोस्टा (पोर्टो), रुई प्याट्रिसियो (एएस रोमा), जोसे सा (उल्भरह्याम्पटन)

रक्षक : डिएगो डालोट (म्यानचेस्टर युनाइटेड), जोआओ कान्सेलो (म्यानचेस्टर सिटी), डाजिलो पेरेरा (पीएसजी), पेपे (पोर्टो), रुबेन डियास (म्यानचेस्टर सिटी), एन्टोनियो सिल्भा (बेनफिका), नुनो मेन्डेस (पीएसजी), राफाएल गुरेरो (बोरुसिया डर्टमन्ड)

मिडफिल्डर : रुबेन नेभेस (उल्भरह्याम्पटन), जोआओ पाल्हिना (फुलहम), विलियाम काल्र्भालो (रियल बेटिस), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), भिटिन्हा (पीएसजी), ओटाभियो (पोर्टो), जाओओ मारियो (बेनफिका), म्याथुस नुनेज (उल्भरह्याम्पटन), बर्नादो सिल्भा (म्यानचेस्टर सिटी)

स्ट्राइकर : राफाएल लिआओ (एसी मिलान), जोआओ फिलिक्स (एट्लेटिको म्याड्रिड), रिकार्डो होर्टा (ब्रागा), गोन्सालो रामोस (बेनफिका), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), आन्द्रे सिल्भा (आरबी लाइपजिग)

प्रकाशित: २५ कार्तिक २०७९ ४:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =