तामझामसहित माइत झरिन् त्रिपुरासुन्दरी

हिमाल प्रेस ११ मंसिर २०७९ १५:२६
10
SHARES
तामझामसहित माइत झरिन् त्रिपुरासुन्दरी त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्ति माइथान मन्दिरमा सार्दै पुरोहित र भक्तजन। तस्बिर- रासस

मलेखु– अघिअघि पञ्चेबाजासँगै नांगो खुँडा, खुकुरी बोकेका युवा। त्यसपछि दियो, कलश, शंख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते सांग्लाेको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति।

सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई सोही गाउँपालिकाको वडा ६ हाँसेबजारस्थित माइथानबेंसी सारिदाको यसी तामझामसित सारिन्छ।

भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ।

यही परम्पराअनुसार आइतबार बिहान भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रूपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो।

अझ रोचक त के छ भने बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन पनि नपाइने परम्परा छ। भगवती माइको दर्शनका लागि बाटो कुरेर बसेका स्थानीय कृष्ण थापाले भने, ‘पहिलेदेखिकै परम्परा यही हो। भगवानलाई छुन हेर्न पाइँदैन, बाहिरबाटै दर्शन गर्ने फूल अक्षेता चडाउने हो।’

देवीको दर्शन गर्न सयौंको संख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो ढुकेर बसेका थिए। मुर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गरिरहेका थिए।

वडा दसैँको चतुर्थीको दिनपूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाँघी घर आगिञ्चोक हाँसे बजार मन्दिरमा सारिएको हो।

रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरासुन्दरी भगवतीमाइको मूर्तिलाई पिँठ्युमा बोकेका थिए। वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ।

रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिनाबाहेक अरू कसैले हेर्न र छुन नपाउने परम्परा छ। यी तीन जातीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम छ।

यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकांक्षा पूरा गर्न परबाट नै देवीलाई फूल अक्षेताले पूजा गर्ने स्थानीय अगुवा कृष्ण श्रेष्ठले बताए।

विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइलाई तुलना गरिएको छ।

सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ।

जुन मामाघरका रूपमा प्रसिद्ध छ। स्थानीय पुजारी अर्जुन सापकोटाका अनुसार मंसिरदेखि चैतसम्म भगवतीलाई आगिञ्चोक गाविसस्थित बेंसीको मन्दिरमा राखिन्छ।

जुन भगवतीको माइतीका रूपमा चिनिन्छ। सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ।

प्रकाशित: ११ मंसिर २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =