सरकारको नेतृत्व लिन तयार छु : गगन थापा

हिमाल प्रेस १० मंसिर २०७९ १३:०१
332
SHARES
सरकारको नेतृत्व लिन तयार छु : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू सरकारको नेतृत्व लिन तयार रहेको दोहोर‌्याएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर ७ मा शनिबार बिहान आयोजित धन्यवाद सभामा सम्बोधन गर्दै जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउने गरी आफू काम गर्न तयार रहेको बताएका हुन्।

उनले यसका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अभिभावकको भूमिकामा रहनुपर्ने बताए। थापाले भने, ‘अब पार्टी सभापति र वरिष्ठ नेताले हाम्रो भर गर्नुपर्छ। तपाईँहरु पछाडि सिटमा बसेर हामीलाई मागनिर्देश गर्नुपर्छ। गाडी चलाउने ठाउँ हामीलाई छाडिदिनुपर्छ। तपाईँहरुले मै चलाउँछु भनेर बसिरहन आवश्यक छैन। किनभने हामी गाडी चलाउन तयार भएर आइसकेका छौँ। राम्रैसँग चलाउँछौँ।’

उनले यो कुरा आफूले पार्टीका सभापति र वरिष्ठ नेतालाई यही कुरा भनिरहेको पनि जानकारी दिए। काठमाडौँ फर्केपछि सबै नेताहरूसँग फेरि छलफल गर्ने उनले बताए। उनले गठबन्धनमा आबद्ध सबै दललाई मिलाएर लैजान पनि आफू तयार रहेको बताए। थापाले भने, ‘नेपाली कांग्रेस गठबन्धनमा भएका सबै दललाई मिलाएर पाँच वर्षको स्थिर सरकार दिनुपर्छ। सरकार भएको कुरा आमनागरिकले अनुभूति पनि गराउनुपर्छ। त्यो जिम्मेवारी लिन तयार भएर बसेको छु।’

उनले नेपालले सरकार मात्रै नयाँ खोजेको नभई सरकारको शैली, गति र सरकार चलाउने व्यक्ति पनि नयाँ खोजिरहेको बताए। उनले भने, ‘नेपालले सरकार चलाउने नयाँ मान्छे पनि खोजेको छ। त्यही खोजी पूरा गर्ने सन्दर्भमा म मेरो पार्टी नेपाली कांग्रेसका तर्फबाट यो जिम्मेवारी लिन तयार छु।’

थापाले नातिनातिना र छोराछोरीले घरको जिम्मा लिन्छु भनेर आएमा राम्रो घरमा बाआमा खुसी भएजस्तै पार्टीका अभिभावक पनि खुसी हुनुपर्ने बताए। उनले भने, ‘नातिनातिना र छोराछोरीलाई कुलत लागेको छ भने मात्रै बूढो भएको बाले सकीनसकी दुख गरेर घर सम्हाल्नुपर्छ। हामीलाई कुनै कुलत लागेको छैन। हामी चलाउन सक्छौँ।’

थापाले आफूले मुलुक चलाउने संकल्प लिएर घरदैलोमा जाँदा मतदाताले साथ दिएजस्तै अबका दिनमा अघि बढ्न पनि भरपर्दो साथ र आशीर्वादको अपेक्षा गरेको बताए। उनले भने, ‘म मुलुक चलाउने संकल्प लिएर तपाईँहरुका बीचमा आएँ। अगाडि बढ्, हामी तँलाई तागत दिन्छु भनेर पठाउनुभएको छ। अब पनि भरपर्दो साथ र आशीर्वाद दिनुहुने विश्वास छ।’

प्रकाशित: १० मंसिर २०७९ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =