मर्दी हिमाल पदयात्रा सुरु, पदमार्ग जोगाउन स्थानीयवासीको माग

हिमाल प्रेस २१ कार्तिक २०७९ १०:१४
मर्दी हिमाल पदयात्रा सुरु, पदमार्ग जोगाउन स्थानीयवासीको माग फाइल तस्बिर।

पोखारा– कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ। छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ।

पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ। धेरै पदमार्गहरू सडक विस्तारले हराउँदै गएको सुनेका  स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन्।

उनीहरू मर्दी क्षेत्रमा बढेको अव्यवस्थित बसोबासलाईसमेत नियन्त्रण गरी पर्यटकीय आकर्षण कायमै राख्नुपर्ने माग गरेका छन्।

पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत्लगायतका समस्या छन्। होटलहरू खुल्ने क्रम बढे पनि व्यवस्थित छैनन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ सिदिङका प्रज्ज्वल क्षेत्रीले बर्सेनि हजारौँ पर्यटक आउने मर्दी पदयात्रालाई सरकारले व्यवस्थित गरी पदमार्ग जोगाउन माग गरे।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी अभियानमा सिदिङ पुग्नुभएका गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल र प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीलाई उनले मर्दी पदमार्गका समस्या सुनाए।

‘अब यहाँभन्दा माथि मोटरबाटो खन्ने काम रोकेर सरकारले मर्दी पदयात्रालाई जोगाउनु पर्दछ,’ क्षेत्रीले भने, ‘केन्द्रीय विद्युत् अझै पुगेको छैन, एक्यापलगायतबाट समस्या भएको छ। सरकारले व्यवस्थित गरेर पर्यटकलाई सुविधा दिनुपर्दछ।’

मर्दी पदयात्रा माछापुच्छ्रेका सिदिङसहित धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाटसमेत सुरु गर्न सकिन्छ। सुन्दर हिमशृङ्खलाको दृश्यावलोकनसहित लालीगुँरासको सुन्दरतामा रमाउँदै पर्यटकले पदयात्रा गर्ने गर्दछन्।

पर्यटकहरू पदयात्रा गर्दै ४५०० मिटर उचाइको मर्दी हिमालको आधार शिविरसम्म पर्यटक पुग्छन्। पदयात्रामा होटलहरू खुलेका छन्। तर, विद्युत्, खानेपानीलगायतका समस्या छन्। चुनावी अभियानमा आएका उम्मेदवारलाई स्थानीयवासीले यहाँका समस्या सुनाउँदै समाधानको माग गर्ने गर्दछन्।

माछापुच्छ्रे गाउँपालिका-८ कोलेलीका गणेश आचार्यले मर्दी हिमाल र माछापुच्छ्रे नमूना पदमार्गको विकासमा सरकारको ध्यान नपुगेको बताए। बर्षेनी पर्यटक बढिरहेकाले पर्यटकीय पूर्वाधार थप गर्दै जानुपर्ने उनको माग छ।

प्रकाशित: २१ कार्तिक २०७९ १०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =