कास्की-१ मा एमालेको ‘क्लिन स्विप’

हिमाल प्रेस ९ मंसिर २०७९ १२:५२
6
SHARES
कास्की-१ मा एमालेको ‘क्लिन स्विप’

पोखरा- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ मा कास्कीमा ३ क्षेत्रमध्ये क्षेत्र १ मा एमालेले ‘क्लीन स्वीप’ गरेको छ। जिल्लाका बाँकी क्षेत्रमा भने मिश्रित परिणाम आयो।

शुक्रबार बिहान अन्तिम मतपरिणाममा कास्की क्षेत्र १ प्रतिनिधिसभा सदस्यमा एमालेका मनबहादुर गुरुङ २ हजार ५ सय १९ मतान्तरले निर्वाचित भएका छन्। उनले २५ हजार ७ सय ८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार किशोरदत्त बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरेका छन्। किशोर पाँचदलीय गठबन्धनका साझा उम्मेदवार थिए। निर्वाचित हुने मनबहादुर एमाले कास्की अध्यक्ष समेत हुन्।

२०७४ सालको चुनावमा सोही क्षेत्रबाट एमालेका नेता खगराज अधिकारी निर्वाचित भएका थिए। यसपालि प्रदेशसभातर्फ ओर्लिएका उनी पुनः निर्वाचित भए।

प्रदेशसभा (१) तर्फ पूर्व गृहमन्त्रीसमेत रहेका अधिकारीले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराएका हुन्। अधिकारीले १५ हजार ६ सय २३ मत प्राप्त गर्दा कोइरालाको पक्षमा ११ हजार ६ सय २७ मत आयो।

अघिल्लो चुनावमा कोइरालाको साथमा संघको चुनाव जितेका अधिकारीले पूर्व सारथिलाई झण्डै ४ हजार मतान्तरले पाखा लगाएका हुन्। माओवादीका युवा नेता कोइराला कास्की क्षेत्र १ (१) बाट जितेर सांसद हुँदै प्रदेशसभामा विकास समिति सभापति भएर काम गरेका व्यक्ति हुन्।

कास्की १ प्रदेशसभा (२) मा एमालेका वेदबहादुर गुरुङ (श्याम) ले बाजी मारे। उनले कांग्रेसका उम्मेदवार दीपक गुरुङ (माइला) लाई ८ सय ६७ मतान्तरसहित पराजित गरेका हुन्। श्यामले १२ हजार ६ सय ६१ र दीपकले ११ हजार ७ सय ९४ मत प्राप्त गरे।

तेस्रो स्थानमा रहेका राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६ सय ५६ मत प्राप्त गरेका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा श्याम मादी गाउँपालिका अध्यक्ष निर्वाचित भई ५ वर्षसम्म जनताको सेवा गरेका थिए। यसपालि उनी गाउँपालिका अध्यक्ष हुँदै सांसद बनेका हुन्। फिल्मकर्मी समेत रहेका उनी त्यस क्षेत्रमा सबैको प्रिय मानिन्छन्।

२०७४ सालमा एमाले, माओवादी सहितको बामगठबन्धनमा चुनाव लडेकोमा कास्की क्षेत्र १ बाट खगराजले कांग्रेसका यज्ञबहादुर थापालाई हराएका थिए। प्रदेशसभातर्फ क्षेत्र १ (१) मा दीपक कोइराला र क्षेत्र १(२) मा मनबहादुर गुरुङ निर्वाचित भएका थिए।

यसपालि पाँचदलीय गठबन्धनको सिट बाँडफाँडमा कास्की १ कांग्रेसको भागमा परेको थियो। कास्की २ एकीकृत समाजवादी र कास्की ३ माओवादी केन्द्रले लिएका थिए। तर कास्कीका तिनै क्षेत्रमा गठबन्धन प्रतिनिधि सभा सदस्यमा पराजित भयो।

एमालेले कास्की १ मा क्लिन स्विप गरे पनि क्षेत्र २ र ३ मा मिश्रित परिणाम ल्याएको हो। कास्की २ (२) र कास्की ३(२) कांग्रेसलाई सुम्पिएको एमालेले बाँकीमा जित जोगायो।

प्रकाशित: ९ मंसिर २०७९ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =