प्रकाशमान सिंह भन्छन् : मेरो विजय भनेकै लोकतन्त्रको जित हो

रासस ६ मंसिर २०७९ १६:५१
36
SHARES
प्रकाशमान सिंह भन्छन् : मेरो विजय भनेकै लोकतन्त्रको जित हो

काठमाडौँ- काठमाडौँ क्षेत्र नं १ बाट विजयी भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेन्डा भएको बताएका छन्। लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उनले सात हजार एक सय ४३ मत ल्याई चुनाव जिते। निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई एक सय २५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्यमा चौथोपटक विजयी बने।

निर्वाचित भएपछि काठमाडौँ निर्वाचन क्षेत्र १ का मतदातालाई धन्यवाद दिँदै उनले यस जितले लोकतन्त्रवादीको शीर माथि उठेको दाबी गरे। लोकतन्त्रमा जनता सर्वोच्च र निर्णायक हुने र उनीहरूको मतले नै राज्य सञ्चालन हुने हुँदा यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै स्वच्छ प्रतिस्पर्धाले नै लोकतन्त्रलाई बलियो बनाउने बताए। आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्रका लागि गरेको समर्पण र स्च्छ छविकै कारण यस क्षेत्रका जनताले पटकपटक विजयी गराएका उनको भनाइ छ।

उनले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व गर्यो‍ अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पन्नता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने बताए। अहिलेको अर्थतन्त्रको संकट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहेको भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए।

उनले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण संघीयता लागू भए पनि केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गरे। ‘सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन। त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ’ उनले भने।

निर्वाचनको मत परिणामको प्रारम्भिक नतिजाले नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने उनको भनाइ छ। नेता सिंहले निर्वाचन घरदैलोका क्रममा मतदाताले राखेका विकास निर्माण, जनजीविकाका सवाल र राजनीतिक स्थिरताका लागि आफूले विगतमा जस्तै एक जिम्मेवार जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै नेता सिंहले अब आफ्नो सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए।

प्रकाशमान विसं २०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा हुन्।

२०१२ सालमा जन्मनुभएका उनी २०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बने। २०३६ सालमा अध्यक्ष बने। २०४७ देखि निरन्तर १० वर्षसम्म नेपाली कांग्रेसको काठमाडौँको सभापति रहेका उनी नेपाली कांग्रेसको विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक)को उपसभापति बनेका थिइ। २०६४ मा पार्टी एकीकरणपछि २०६७ मा भएको १२औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए।

उनले २०५३ सालमा राष्ट्रियसभा सदस्य भएर छ वर्षको कार्यकाल पूरा गरे। २०६४ सालमा भएको पहिलो संविधानसभा र त्यसपछिका तीनवटै आम निर्वाचनमा उनले काठमाडौँ–१ मा क्षेत्रबाट चुनाव जित्दै आएका छन्। तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्रिमण्डलमा उपप्रधानमन्त्री, स्थानीय विकास तथा संघीय मामिलामन्त्री भएका थिए।

प्रकाशित: ६ मंसिर २०७९ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =