कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

हिमाल प्रेस ६ मंसिर २०७९ १०:२१
2
SHARE
कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

धनगढी- प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो परिणामअनुसार कैलालीमा नागरिक उन्मुक्ति पार्टीले तीन क्षेत्रमा निरन्तर अग्रता लिएको छ। कैलालीका ५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ४ मा मतगणना भइरहेको छ। कैलाली ४ मा एमालेले झिनो मतान्तरले अगाडी छ।

कैलाली १ मा मंगलबार बिहान ८ बजेसम्म ११ हजार ५६५ मत गणना भइसकेको छ। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले पाँच हजार २०१ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेपालीकाँग्रेसका रामजनम चौधरीले तीन हजार ३७० मत पाएका छन्। नेकपा एमालेका तपेन्द्रबहादुर रावल एक हजार १५१ मतसहित तेस्रो स्थानमा रहेका छन्।

कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुनकुमार चौधरी प्रतिस्पर्धीभन्दा करिब ६ सय मतले अगाडी छन्। अरुनले एक हजार ४८८ मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवालले ८६६ तथा नेकपा एमालेका झपटबहादुर रावलले ६२७ मत पाएका छन्। सो क्षेत्रमा अहिलेसम्म तीन हजार २७१ मत गणना भएको छ।

कैलाली ३ मा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार करिब ४ हजार मतान्तरले अगाडी छन्। अहिलेसम्म ४५ हजार मत गणना हुँदा नाउपाका गंगाराम चौधरीले १६ हजार ६९३ मत प्राप्त गरेका छन्।

पाँच दलीय गठबन्धन उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १२ हजार ६९८ मत पाएका छन्। त्यस्तै, एमालेका गौरीशंकर चौधरीले ७ हजार ४७४ र राप्रपाका वीरेन्द्रबहादुर बमले ६ हजार ३४३ मत प्राप्त गरेका छन् ।

कैलाली ४ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

कैलाली ४ मा प्रतिनिधि सभा सदस्य पदका लागि गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका वीरबहादुर बलायर र नेकपा एमालेका लेखराज भट्टबीच कडा प्रतिस्पर्धा भइरहेको छ। मतगणना सुरु भएदेखि अगाडी रहेका कांग्रेसका बलायरलाई अहिले एमालेका भट्टले उछिनेका छन्।

मंगलबार बिहान ९ बजेसम्मको मतगणना परिणामअनुसार एमालेका भट्टले पाँच हजार ७४० र काँग्रेसका बलायरले ५ हजार ३१९ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 12 =