केन्द्रीय गठबन्धन धेरै टिक्दैन, सुदूरपश्चिमबाट भत्कन सुरु भयो : मुख्यमन्त्री शाह

हिमाल प्रेस ३ वैशाख २०८१ १३:४६
68
SHARES
केन्द्रीय गठबन्धन धेरै टिक्दैन, सुदूरपश्चिमबाट भत्कन सुरु भयो : मुख्यमन्त्री शाह कमलबहादुर शाह।

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले केन्द्रीय गठबन्धन अब धेरै दिन नटिक्ने दाबी गरेका छन्। उनले यसको सुरुवात सुदूरपश्चिम प्रदेशबाट भइसकेको बताए। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नपाएको भन्दै एकीकृत समाजवादीले सत्ता गठबन्धनमा विद्रोह गरेपछि कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहको यस्तो प्रतिक्रिया आएको हो।

एकीकृत समाजवादी केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ। सुदूरपश्चिममा भने उक्त पार्टीले कांग्रेससँग सहकार्य गरेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अगाडि सारेको छ।

मुख्यमन्त्री शाहले बहुमत पुर्‍याएर विश्वासको मत लिने प्रयास विफल भएपछि चैत २२ गते राजीनामा दिएका थिए। शाहले हिमाल प्रेससँगको कुराकानीमा भने, ‘गठबन्धन परिवर्तनको सुरुवात भयो। संघीय गठबन्धन पनि धेरै परसम्म जाँदैन, छिटोभन्दा छिटो भत्किन्छ।’ उनले सुदूरपश्चिम प्रदेशमा लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री अगाडि सार्नु नै केन्द्रीय गठबन्धन भत्कने आधार रहेको दाबी गरे।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस, नागरिक उन्मुक्ति, राप्रपा र एकीकृत समाजवादीका संसदीय दलका नेताहरूले लक्ष्मणलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने सहमतिमा हस्ताक्षर गरेका छन्। चार दलले लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीमा दाबी पेस गर्दै संयुक्त रूपमा प्रदेश प्रमुखलाई बुझाइसकेको शाहले बताए।

उनले भने, ‘प्रदेश सरकार बनाउने कुरामा हामी चार दल एक ठाउँमा उभिएका छौँ। समाजवादी पनि प्रदेशमा आफ्नै हिसाबले निर्णय लिनुपर्छ भनेर आउनुभयो। उहाँहरूलाई हामीले स्वागत पनि गरेका छौँ।’

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट दुईजनाले दाबी पेस गरे पनि संविधानले संसदीय दललाई चिन्ने शाहले बताए। उनले भने, ‘संसदीय दलको एउटा व्यवस्था हुन्छ। प्रक्रिया हुन्छ। त्यसलाई चिन्नुपर्छ।’ प्रदेशमा एउटै दलका तर्फबाट दुई जनाले दाबी पेस गरेपछि प्रदेश प्रमुख नजिर मियाले मुख्यमन्त्री नियुक्त गरेका छैनन्।

एमाले–माओवादी गठबन्धनले नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेर प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न लगाएको छ। कैलाश नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षीय र लक्ष्मण संरक्षक रेशम चौधरी पक्षीय हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =