नागरिकबाट लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त : देउवा

हिमाल प्रेस ४ मंसिर २०७९ १९:५०
2
SHARE
नागरिकबाट लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त : देउवा

काठमाडौँ- प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको बताएका छन्।

उनले मतदानमा भएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताए। देउवाका तर्फबाट कांग्रेस मुख्याललये जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु।’

संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएको स्मरण देउवाले गरेका छन्। उनले भनेका छन्, ‘आमनिर्वाचनमा तपाईँहरुले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ।’

देउवाले निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसालेकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘निर्वाचनमा तपाईँहरुको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नुभएकोमा सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा दिएको छ।’

साथै यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पुर्याएको उनको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु। निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु।’ देउवाले निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी साथीहरु एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =