झापा ४ : नयाँ र पुराना अनुहारसहित १८ उम्मेदवार मैदानमा

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:१३
झापा ४ : नयाँ र पुराना अनुहारसहित १८ उम्मेदवार मैदानमा

बनियानी– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर चारमा ठूला पाँचदलका दुई पुरानै अनुहार दोहोरिएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट देउवान थेवे र नेकपा एमाले-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तालमेलबाट लाल साँवा (एलपी) छन्।

०७४ को संसदीय चुनावमा पनि बलियो प्रतिस्पर्धीका रूपमा थेवे र साँवा नै थिए। सो चुनावमा साँवाले ४३ हजार पाँच सय १५ मत ल्याएर विजयी भएका थिए भने थेवेले २६ हजार आठ सय २२ मत ल्याएका थिए।

पाँचदलका यी दुई उम्मेदवारसहित यहाँ प्रतिनिधिसभामा १८ उम्मेदवार चुनावी मैदानमा छन्। त्यस्तै, प्रदेशसभा १ र २ मा २२ जना उम्मेदवार छन्।

प्रतिनिधिसभामा नेपाली कांग्रेस बिपीका तर्फबाट दुर्गा घिमिरे, मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट दिलीप धिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट ग्यासुदिन मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट मन ताम्बादेन (लिम्बू), हाम्रो नेपाली पार्टीका तर्फबाट युक्त भेटवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट लाहानसिं तुम्बापो, नेपाल मजदूर किसान पार्टीका तर्फबाट विक्रम काँसिछवा, जनमत पार्टीका तर्फबाट सत्यनारायण राजवंशी, जनता समाजवादी पार्टी नेपालका तर्फबाट हर्कराज राई र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शुम्भु ढकाल चुनावी मैदानमा छन्।

यस्तै स्वतन्त्रहरूमा खुश्बु ओली, लक्ष्मीनारायण खनाल, पूर्णकुमार लिम्बू (फेजुङ), कमल पौडेल, किरण श्रेष्ठ, नन्दराज राईलगायत छन्। यतिबेला उम्मेदवारहरू आ-आफ्ना प्रतिबद्धताका साथ जनताको घरदैलोमा मत माग्न व्यस्त छन्। सँगै जनताका समस्या सुन्ने, बुझ्ने र पूरा गर्ने आश्वानस दिने काममा सबै उम्मेवार एकाग्र भएका छन्।

झापा ४ मा आफूले सुरु गरेका अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको उम्मेदवार साँवा बताउँछन्। संसदीय यात्रा सुरु गरेको एक-डेढवर्षमै कोरोना भाइरसको महामारीले काम गर्न नपाएको उनको भनाइ छ। ‘मैले सुरु गरेका योजना अधुरै छन्’, उनले भने, ‘त्यसलाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ।’

चुनावी घरदैलोको क्रममा आफूले घोषणा गरेका काम ग्यारेन्टीका साथ गर्ने दृष्टिकोण र भिजन राखेको उनको भनाइ छ। वर्षाको समयमा यहाँका नदीले गर्ने कटानबाट पीडित बनेको नागरिकलाई सुरक्षित गर्नु यहाँको प्रमुख समस्या रहेको साँवाले बताए।

यता, शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार पर्यटनलगायतका ३५ बुँदे प्रतिबद्धता पत्रसहित मतदाताको घरदैलोमा पुगिरहेका उम्मेदवार थेवे भन्छन्, ‘म पदमा रहे पनि नरहे पनि यो क्षेत्रको समस्या समाधानमा योगदान गरेको छु।’ स्थानीय समस्या समाधानमा जहिले पनि अघि रहेकाले मतदाताको यस पटकको आशा र भरोसा आफूमाथि रहेको उनको दाबी छ। ‘यहाँको स्थानीय विकास निर्माणमा म प्रत्यक्ष संलग्न भएको छु’, उनले भने, ‘धेरै काम गरेको छु, अझै गर्नु छ।’

उता, हाम्रो नेपाल पार्टीसँग सहकार्य गरेर चुनावी चिह्न ‘लौरो’ लिएर मैदानमा उत्रिनुभएका पुराना वामपन्थी नेता युक्त भेटुवालले पुराना दल र पुराना नेताबाट मुलुकको विकास र समृद्धि सम्भव नभएकाले आफू चुनावी मैदानमा उत्रिएको बताउँछन्।

झापा ४ मा गर्नैपर्ने विभिन्न १७ वटा बुँदामा कार्ययोजना बनाएर चुनावी अभियानमा भेटुवाल सक्रिय छन्। उनको प्रतिबद्धता पत्रमा राष्ट्रिय आवश्यकता, जैविक अधिकार, आर्थिक संरचना, शासकीयस्वरूप, शिक्षा प्रणाली, कृषि, स्वास्थ्य सेवा, रोजगारका विषय समेटिएको छ।

यस्तै, स्वतन्त्र उम्मेदवार खुश्बु ओली पनि यतिबेला झापा ४ मा मतदाताको घरदैलोमा छन्। राप्रपाबाट झापा ४ मा उम्मेदवार सिफारिस भई चुनावी अभियान थालेकी उनी एमाले-राप्रपा तालमेलपछि पछि हट्न पार्टीबाट निर्देशन भए पनि उम्मेदवारी दिँदै क्रस खुकुरी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेकी छन्।

‘यस क्षेत्रले विकास पाउन सकेको छैन’, उनले भनिन्, ‘झापा जिल्लामै दुर्गम क्षेत्रको रूपमा चिनिएको यो क्षेत्रको परिवर्तनका लागि मैले उम्मेदवारी दिएकी हुँ।’

नदी कटान, धनीपूर्जा, बेरोजगारी, नागरिकतालगायतका धेरै समस्याले यो क्षेत्र आक्रान्त बनेकाले सोको समाधानका लागि आफू उम्मेदवार बनेको उनले बताइन्। मुख्यतः गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा थेवे, प्रदेश १ मा झलकसिंह दर्लामी र प्रदेश २ मा एकराज उप्रेती प्रतिष्पर्धामा छन्। यता एमाले-राप्रपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा साँवा, प्रदेश १ मा राधाकृष्ण खनाल र प्रदेश २ मा भक्ति सिटौला मैदानमा छन्।

क्षेत्र ४ मा पुरुषतर्फ ६२ हजार २२, महिला ६१ हजार एक सय एक र अन्य एक गरी एक लाख २३ हजार एक सय २४ मतदाता रहेको र ६३ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन्।

झापा ४ मा शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका, कनकाई नगरपालिका-१, २, ३, ४, ५, ६ र ७ नम्बर वडा, गौरादहको वडा नम्बर ९ र गौरीगञ्जको १ र २ . वडा पर्छ । गत स्थानीय तह निर्वाचनको मत परिणामअनुसार यो क्षेत्रमा २८ मध्ये एमाले १५ वटा वडा, कांग्रेस ११, माओवादी केन्द्र एक र स्वतन्त्र उम्मेदवारले एक वटा जितेको छ।

स्थानीय तह निर्वाचनमा यहाँ एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार दुई सय ७३, कांग्रेस-माओवादीसहितको गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले ३२ हजार आठ सय ९२, राप्रपाका वडाध्यक्षका उम्मेदवारले चार हजार पाँच सय ५६ मत पाएका थिए ।

प्रकाशित: ३० कार्तिक २०७९ ४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =