हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

हिमाल प्रेस २४ कार्तिक २०८० ९:५६ | Friday, November 10, 2023
हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा प्रतीकात्मक तस्बिर।

झापा- जंगली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा कार्यक्रम सञ्चालन गरिएको छ।

हात्तीले जनधनको निरन्तर क्षति पुर्‍याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बिमा र घर बिमाको थालनी गरिएको हो।

शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्याएमा बिमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाउने छन्। प्रतिघरधुरी बिमा गराउन वार्षिकरूपमा ९५ रुपैयाँ मात्र बिमा शुल्क लागेको छ। सबै घरको बिमा शुल्क वडा कार्यालयसँग भएको सहमतिअनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैरसरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए।

भारतको आसामबाट हात्ती आउने नेपालको सीमावर्ती पहिलो क्षेत्र नै बाहुनडाँगी हो। विगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी हाल मेचीनगरअन्तर्गत पर्छ। बाहुनडाँगीका चार वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा नं ४ बाट बिमा सुरु गरिएको वडाध्यक्ष कार्कीले बताए।

वडाका सबै परिवारलाई घर बिमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो। तर वडाका कुल एक हजार तीन सय दुई परिवारमध्ये छ सय ५९ मात्र बिमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिए।

‘कुनै पनि परिवार नछुटुन् भनेर सबै वडावासीलाई बिमामा समावेश हुन आह्वान गरेका थियौँ’, उनले भने, ‘तर कतिपय कागजात वडा कार्यालयमा बुझाउनै आउनुभएन। जो–जो सम्पर्कमा आउनुभयो, उहाँहरूको घरको बिमा गरेका छौँ।’ छुट भएका घरलाई पछि समावेश गरिने उनले बताए।

वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ स्वयंसेवकको समेत जीवन बिमा गरिएको छ। ती स्वयंसेवकलाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम (आरआरटी)को रूपमा तालिम दिएर खटाइएको वडाध्यक्ष कार्की बताउँछन्।

हात्ती धपाउने कार्य रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला आक्रमणमा परिने जोखिम भएकाले आरआरटीका युवाको पाँच लाख रुपैयाँको जीवन बिमा गरिएको उनले जानकारी दिए।

प्रकाशित: २४ कार्तिक २०८० ९:५६ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast