इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव नेपाल ल्याइयो

हिमाल प्रेस १८ कार्तिक २०८० १०:०१
22
SHARES
इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव नेपाल ल्याइयो फाइल तस्बिर

काठमाडौँ- दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ।

फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही ६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली-३ का राजन फुलाराको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए।

उनका अनुसार फुलाराको शव शुक्रबार दिउँसो, स्वर्णकारको गए राति र शाहको शव आज बिहान नेपाल आइपुगेको हो।

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। हमास समूहको आक्रमणमा परी मृत्यु भएकामध्ये आठ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शाह र स्वर्णकारको शव आजै सम्बन्धित जिल्लामा नेपाली सेनाको हेलिकप्टोरमार्फत पठाइने सहसचिव आरणले बताए।

हालसम्म बझाङ जयपृथ्वी ६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही ६ का आनन्द शाह, कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा तथा कैलाली बौनियाँ ३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए। उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा डोटी लामीखाल ८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन्।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त ३ का विपीन जोशी सम्पर्कबिहीन छन्। केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो।

प्रकाशित: १८ कार्तिक २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast