काठमाडौँ- जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ। घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ।
रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए।
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन्। यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ। बाँकी अन्य घाइतेको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको छ।
भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएका छन्। यसैगरी प्रभावित जिल्लाका सुरक्षा संयन्त्रहरूको संयोजनमा उद्धार कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ।