रुकुम पश्चिम- गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ ।
जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलका महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाईनाबगरका ३१ वर्षीय धनविर पुन, सोही वडाकै २८ वर्षिया चुम्निमा पुन, आठ वर्षका यमराज पुन र दुई वर्षे सितम पुन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।
भूकम्पमा परी हालसम्म १० जना घाइते भएको विवरण प्राप्त भएको छ । त्रिवेणी, बाफीकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मानवीय क्षति भएको विवरण हालसम्म आएको छैन। चौरजहारी नगरपालिकामा भूकम्पमा परी घाइते भएकाको उद्धार भइरहेको र मानवीय क्षति नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए।
जिल्लाको आठविसकोट नगरपालिका भने ठूलो मानवीय क्षति भएको बताइएको छ। तर प्रहरीले हालसम्म कति जनाको मृत्यु भयो भन्ने यकिन जानकारी नआएको बताएको छ।