जाजरकोट- शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पमा परी सयौँको संख्यामा मानिस घाइते भएका विवरण प्राप्त भएका छन्।
भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको उनले बताए। भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षति पुर्याएको छ। भूकम्पका कारण घरहरू भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ। जिल्लाका सबै सुरक्षा अंग परिचालन भएको प्रजिअ सुनारले बताए।
जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ। विद्युत् सेवासमेत अवरुद्ध भएको छ। सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ।
रातिको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।