 
                             
                                            बाग्लुङ– बाग्लुङको दक्षिणी क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ-कुश्मीशेरा सडक हालसम्म पूर्ण रूपमा निर्माण भइसकेको छैन। मालढुंगादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको धेरैजसो खण्ड पहिरोले क्षतिग्रस्त छ भने खाल्डाखुल्डीका कारण सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
बागलुङ नगरपालिका-१ मालढुंगादेखि वडा १० को गलुवासम्मको १ किमी सडक कच्ची छ। गलुवाकै दब्ल्याङमा २ वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो। पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बागलुङले तयार पारेको लागत अनुमान मन्त्रालयमा पुगेर थन्किएपछि पहिरो नियन्त्रणका लागि कुनै काम हुनसकेको छैन।
कार्यालयले पहिरो नियन्त्रणका लागि १ करोड ३१ लाख ७७ हजार रुपैयाँ लगत अनुमान गरेको छ। ‘गत वर्ष नै पहिरो नियन्त्रणका लागि लागत अनुमान गरेर पठाएका हौं, तर बजेट ४ लाख मात्रै आयो,’ कार्यालयका इञ्जिनियर कृष्ण गौतमले भने, ‘सामान्य पहिरो पन्छाएर सडक खुलाउनसमेत नपुग्ने बजेटले पहिरो रोकथाम गर्न सकिएन।’
हरेक वर्षा याममा झर्ने पहिरो नियन्त्रणका लागि सरोकारवालाले चासो नदेखाउँदा आफूहरूले सास्ती खेप्नुपरेको सर्वसाधारणको गुनासो छ। ‘बर्खाभरि हिउँद लागेपछि पहिरो रोक्ने काम होला भनेर आस गर्छौं। तर कसैले सुन्दैन। आवश्यक काम गर्दैन,’ बागलुङ १२ अमलाचौरका कमल हमालले भने, ‘पहिरो खस्न थालेपछि मात्रै कामको चर्चा हुन्छ।’
पहिरो पन्छाउन मात्रै बागलुङ नगरपालिकाले दुई वर्षमा १० लाख रुपैयाँ खर्च गरेको छ। गत वर्ष नगरपालिकाले विनियोजन गरेको २० लाख बजेटबाट तयार भएका संरचना पहिरोले बगाएको छ। ०७२ सालमा सडक विभागले कालोपत्र गरेको गलुवादेखि पाग्जासम्मको ४ किमी खण्डको विभिन्न स्थानमा पहिरो खसेका कारण सडक नै जोखिममा छ।
कतै सडक भासिएको छ भने कतै सडकमाथिबाट आएको पहिरोले सडक नै पुरिएको छ। लामो समय बितिसक्दासमेत सडकको पहिरो सवारीसाधन एकतर्फी चल्ने गरी पन्छाउने गरिएको स्थानीय ज्ञानेन्द्र ढकाल बताउँछन्।
पूर्वाधार विकास कार्यालय पर्वतले कालोपत्र गरेको पाग्जादेखि सरंगेसम्मको १० किमी खण्डमा खसेका पहिरोकोसमेत अवस्था उस्तै छ। ‘पहिरो नियन्त्रणका लागि पहल भइरहेको छ, स्थानीय सरकारको बजेटले मात्रै थेग्ने अवस्था नरहेकाले माथिल्लो निकायमा पहल गरेका छौं,’ बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का भन्छन्, ‘अर्थमन्त्रीसँग सिधा संवाद गरेका छौं। हिउँदमा काम हुने वातावरण बन्छ भन्ने आसा छ।’
सडकको दुरावस्थाले बागलुङलाई नै गिज्याइरहेको भान हुने गरेको छ। बागलुङका मुख्य सडकमध्ये पर्ने यो सडक विभिन्न समयमा विभिन्न योजनामार्फत विभिन्न खण्डमा कालोपत्र भएको भए पनि अझै २ किमी सडक कच्ची नै छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 