काठमाडौँ- रंगकर्मी बारात लिम्बूको निर्देशनमा ‘नसोधी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा स्मृति गुमाउँदै गएकी आफ्नी नृत्यांगना श्रीमतीलाई पुराना सम्झना फर्काउने प्रयासमा जुटेका एक कलाकारको कथा प्रस्तुत गरिएको छ।
गीतको कथाअनुसार ती कलाकार हरेक दिन क्यानभासमा नयाँ चित्र कोर्छन्। उनी चित्रमार्फत श्रीमतीसँग बिताएका पल, घुमेका ठाउँ र उनीहरूबीचको प्रेमलाई पुनः जीवन्त बनाउने प्रयास गर्छन्। तर उनका हरेक प्रयास मौनता र हृदयविदारक पीडामा टुंगिन्छन्। श्रीमतीका हराएका सम्झना फर्काउन उनी सफल हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नको जवाफ गीत ‘नसोधी’ले खोजेको छ।
एक दशकदेखि रंगमञ्च र चलचित्र क्षेत्रमा अभिनय तथा निर्देशन गर्दै आएका बारातले गीतमार्फत फरक खालको कथा प्रस्तुत गर्न खोजिएको बताए। गीतमा मनोवादको शब्द, संगीत र स्वर रहेको छ।
गीतमा कुन्साङ बमजन र झरना क्षेत्रीले अभिनय गरेका छन्। मौसम खड्का अतिथि कलाकारका रूपमा देखिएका छन्।
गीतमा मोहन सुनुवार र नेबिका शिलाधरले मेकअप गरेका छन्। नृत्य निर्देशन श्याम पटेल, विरेन श्रेष्ठ र शंकर थापा ‘बिके’ले गरेका छन्। मिलन विक्रम शाहको सम्पादन रहेको गीतको छायांकन महेश पौडेल र कृष्ण बर्देवा (ज्याक) ले गरेका हुन्।
शिलामसक्माको प्रस्तुति रहेको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।




