काठमाडौँ- खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तिहारका लागि बिक्री गरिने मिठाइलगायतका खाद्यवस्तुमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै विभागले जथाभावी अखाद्य रङको प्रयोग गरेर खाद्यवस्तु बिक्रीवितरण नगर्न सचेत गराएको हो।
विभागले सूचनामार्फत चाडपर्वमा धेरै बिक्री हुने मिठाइलगायतमा स्वीकृत रङ मात्रै प्रयोग गर्ने र रङको मात्रा सरकारले तोकेको मापदण्ड अनुसार मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।
विभागले भनेको छ, ‘अनुगमनका क्रममा अखाद्य रङको प्रयोग गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने छ।’ विभागका अनुसार खाद्य ऐनले रातो, हरियो, निलो र पहेँलो गरी चार प्रकारका रङ प्रयोग गर्न अनुमति दिएको छ । जसमा रातो पाँच प्रकारका, पहेँलो, निलो र हरियो दुईदुई प्रकारका रङ छन् ।
यसैबीच काठमाडौँ महानगरपालिकाले तिहारमा अधिक प्रयोग हुने दुधजन्य खाद्यवस्तु तथा मिठाइको गुणस्तरीय उत्पादन र स्वच्छ बिक्रीवितरणको व्यवस्था मिलाउन व्यवसायीलाई निर्देशन दिएको छ।
महानगरपालिकाले काठमाडौँ प्लाजामा मिठाइ, दुधजन्य परिकार तथा खाजाका परिकार उत्पादन तथा बिक्री गर्ने व्यवसायीका संघ संस्थाका प्रतिनिधिलाई बोलाएर यस्तो निर्देशन दिएको हो।
छलफलमा महानगरपालिकाका अनुगमन संयोजक सुनिता डंगोलले महानगरले अनुचित क्रियाकलाप नगर्नेहरू अनुगमनसँग डराउन नपर्ने भन्दै महानगरले कारबाहीभन्दा सुधारका कामलाई प्राथमिकतामा राखेको बताइन्।