गाजा- इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ९ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ।
मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा ३ हजार ७६० बालबालिका र २ हजार ३२६ महिलासहित मृत्यु हुनेको उक्त संख्या सार्वजनिक गरेको हो। त्यस्तै घाइतेको संख्या ३२ हजार नाघेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन्।
गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टनभन्दा बढी वा प्रतिवर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ।
अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी आक्रमण गरी हजारौँ रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरायलमा कम्तिमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।
यसको जवाफमा इजरायली सेनाले गाजा पट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो। रासस/एएफपी