इजरायल-हमास युद्ध : बोलिभियाले तोड्यो इजराइलसँगको कूटनीतिक सम्बन्ध

हिमाल प्रेस १५ कार्तिक २०८० १६:५३
4
SHARES
इजरायल-हमास युद्ध : बोलिभियाले तोड्यो इजराइलसँगको कूटनीतिक सम्बन्ध फाइल तस्बिर : एपी

ला पाज- दुई ल्याटिन अमेरिकी देशले बढ्दो मानवीय संकटका कारण इजराइलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएसँगै बोलिभियाले गाजा हमलालाई लिएर इजराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको छ।

‘बोलिभियाले गाजापट्टीमा भइरहेको आक्रामक र असमान इजराइली सैन्य हमलाको खण्डन र भर्त्सना गर्दै इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ, उपविदेशमन्त्री फ्रेड्डी मामानीले पत्रकार सम्मेलनमा भनेका छन्।

राष्ट्रपतीय मन्त्री मारिया नेला प्रादाले पनि गाजामा मानवीय सहयोग पठाउन लागिरहेको घोषणा गरेका छदन्। ‘हामी गाजापट्टीमा हमला अन्त्य गर्न माग गर्दछौँ, हमलाका कारण अहिलेसम्म हजारौँ नागरिकको मृत्यु भएको छ र प्यालेस्टिनीहरू जबरजस्ती विस्थापित भएका छन्,’ सोही पत्रकार सम्मेलनमा उनले भने।

अक्टोबर ७ मा हमासको आक्रमणसँगै विभाजनकारी संघर्ष सुरु भएपछि वामपन्थी लुइस आर्सेको सरकार इजराइलसँग सम्बन्ध तोड्ने पहिलो ल्याटिन अमेरिकी सरकार बनेको छ। हमासले गरेको हमलामा १ हजार ४ सयभन्दा बढी मानिस मारिएको इजराइली अधिकारीहरूले बताएका छन्।

इजराइलले बुधबार बोलिभियाको कदमलाई ‘आतंकवादसामु आत्मसमर्पण’ भन्दै आलोचना गरेको छ। ‘यस्तो कदम चालेर बोलिभिया सरकारले स्वयंलाई हमास आतंकवादी संगठनसँग जोडिरहेको छ,’ इजराइली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले एक विज्ञप्तिमा भने।

बोलिभियाले गाजापट्टीमा अघिल्लो आक्रमण भएको १ दशकपछि सन् २०१९ मा इजराइलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने घोषणा गरेको थियो। हमासले मंगलबार बोलिभियाको निर्णयको सराहना गर्दै बोलिभियालाई ‘उच्च सम्मानमा राखेको’ बताएको छ। उसले इजराइलसँग आफ्नो सम्बन्धलाई सामान्य बनाएमा अरब मुलुकहरूलाई पनि बोलिभियाकोजस्तै निर्णय लिन आग्रह गरेको छ। रासस/एएफपी

प्रकाशित: १५ कार्तिक २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =