अन्तिमपटक विश्वकप खेल्नेहरू

हिमाल प्रेस ४ पुष २०७९ १३:३२
44
SHARES
अन्तिमपटक विश्वकप खेल्नेहरू

काठमाडौँ- लियोनल मेस्सीले आफ्नो करियरको अन्तिम विश्वकप खेलेका छन्। गत वर्ष महादेसीय प्रतियोगिता कोपा अमेरिका जितेका मेस्सी अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्न आतुर थिए। आखिरमा उनी उपाधिसहित विश्वकप बिदा भएका छन्।

३५ वर्षीय मेस्सी राष्ट्रिय टिमसँगको करियरको उत्तर्राद्धमा छन्। अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिन केही समय लगाउने बताएका मेस्सी विश्वकपबाट बिदा हुने ठूला स्टारहरूको सूचीको अग्रस्थानमा छन्।

आइतबार राति फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदा मेस्सीले निर्धारित ९० मिनेट र थपिएको समयमा एक–एक गोल गरे। पेनाल्टी सुटआउटमा पनि उनी सफल रहे। कतारी भूमिमा गरेको प्रदर्शनले उनलाई विश्वकपकै उत्कृष्ट खेलाडी बनायो। उनले गोल्डन बल पाए भने गोल्डन बुट किलियान एम्बाप्पेले हात पारे। उच्च गोलकर्ता बन्ने दौडमा उनी एम्बाप्पेभन्दा एक गोलले पछि परे।

यो विश्वकप मेस्सीका लागि सफल ठहरिँदा क्रिस्टियानो रोनाल्डोका लागि भने बिर्सनलायकको रह्यो। वर्षौदेखि मेस्सीसँग अन्तर्राष्ट्रिय फुटबलमा दबदबा कायम गरेको रोनाल्डो विश्वकपको क्वार्टरफाइनलबाटै घर फर्किए। विश्वकपमा राष्ट्रिय टिमको मुख्य खेलाडीको भूमिकामा रहन नसकेका उनी क्लबविहीन छन्।

मोरोक्कोसँगको क्वार्टरफाइनलमा पोर्चुगल हार्दा आँसुसरी बनेर मैदानबाट बाहिरिएका रोनाल्डोका लागि यो विश्वकप अन्तिम रह्यो। ‘पाँच पटक विश्वकप खेल्न पाएँ। यसबीचमा महान् खेलाडीसँग खेल्ने मौका पाइयो। लाखौँ पोर्चुगिजले समर्थन गरे। पोर्चुगलको जर्सीमा खेल्दा सधैँ मेहनत गरे। टिमका लागि लडेँ। हिम्मत हारिनँ,’ रोनाल्डोले विश्वकपपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्।

उता नेयमारले पनि अर्को विश्वकप खेल्ने टुंगो छैन। क्रोएसियासँग पराजित हुँदै ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएपछि नेयमारले आफू मानसिकरूपमा विक्षिप्त बनेको प्रतिक्रिया दिएका थिए। उनले अब आफू ब्राजिलको टिममा नफर्कने सम्भावना रहेको पनि बताएका छन्।

नेयमारले कतारमा चोटका कारण समूह चरणका सुरुवाती दुई खेल खेल्न पाएनन्। त्यसपछिका दुई खेलमा भने उनले लगातार दुई गोल गरेका थिए। क्रोएसियाविरुद्ध गरेको गोलले उनलाई पेलेसँगै ब्राजिलको उच्च गोलकर्ता बनायो। यी दुईको नाममा ७७–७७ गोल छ।

पेरिस सेन्ट जर्मेन पीएसजीबाट क्लब फुटबल खेलिरहेका नेयमार ३० वर्षका भए। उत्तर अमेरिकामा हुने आगामी विश्वकपमा खेल्न उनलाई उमेरले रोक्ने सम्भावना कम छ। पेलेले समेत नेयमारलाई ब्राजिलका लागि खेल्न नछाड्न आह्वान गरेका छन्।

सन् २०१८ मा बालोन डोर जितेका लुका मोड्रिचले पनि अन्तिम विश्वकप खेलेका छन्। ३७ वर्षीय मोड्रिचले क्रोएसियाका लागि अझ केही समय खेल्ने इच्छा व्यक्त गरेका छन्। तर सन् २०२६ को विश्वकप खेल्ने सम्भावना भने छैन। करियरको उत्तरार्द्धमा रहे पनि मोड्रिच अझ पनि क्रोएसियाका मुख्य खेलाडी हुन्। चार वर्षअघि क्रोेएसियालाई विश्वकपको फाइनलमा पुर्‍याएका मोड्रिचका लागि नेसन्स लिग २०२३ अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता बन्न सक्छ।

यो विश्वकपमा पोल्यान्डको कप्तानी गरेका रोबर्ट लेवान्डोस्की ३४ वर्षका भए। बार्सिलोनाका स्ट्राइकर लेवान्डोस्की कतारमा गोल पनि गरे। साउदी अरबविरुद्धको गोल उनले विश्वकपमा गरेको पहिलो गोल थियो।

प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग हारेर घर फर्किएको पोल्यान्डबाट लेवान्डोस्कीले विश्वकप खेल्ने सम्भावना छैन। उनी आफैँले पनि विश्वकप यात्रा सकिएको संकेत गरेका छन्। ‘शारीरिक रूपमा म अर्को विश्वकप खेल्न तयार छु। तर मैदानबाहिर धेरै चिज छन् जसले मलाई विश्वकपमा फर्कनबाट रोक्न सक्छन्,’ लेवान्डोस्कीले भनेका छन्।

दुई भेट्रान स्ट्राइकर लुइस स्वारेज र एडिन्सन काभानीले यसपालि पनि उरुग्वेको अग्रपंक्ति सम्हाले। दुवैले गोल भने गर्न सकेनन्। उरुग्वे समूह चरण नै कट्न नसकेपछि स्वारेज र काभानीले सामाजिक सञ्जालमा रेफ्रीप्रति आक्रोश पोखे। ३५ वर्ष पुगिसकेका यी दुवै स्ट्राइकर अर्को विश्वकपमा देखिने छैनन्।

सन् २०१४ मा जर्मनीलाई विश्वकप जिताउन उल्लेखनीय भूमिका खेलेका थोमस मुलर यसपल्ट पनि जर्मन अग्रपंक्तिको सदस्य रहे। ३३ वर्षीय फरवार्डले गोलको खाता भने खोल्न सकेनन्। जर्मनी समूह चरणबाटै बाहिरिएपछि उनको विश्वकप यात्रा खराब लयमा सकियो।

उता बेल्जियमका कप्तान एडेन हाजार्डले त अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास नै घोषणा गरिसके। चार वर्षअघि बेल्जियम सेमिफाइनलमा पुग्दा खुबै तारिफ कमाएका हाजार्डका लागि कतार विश्वकप भने बिर्सनलायकको रह्यो।

हाजार्ड जस्तै ग्यारेथ बेल निष्प्रभावी साबित भए। ३३ वर्षीय विंगर बेलले विश्वकप छनोटमा वेल्सलाई सफल बनाउन प्रभावशाली प्रदर्शन गरेका थिए। तर कतारमा भने उनको जादु चलेन। समूह चरणमा अमेरिकाविरुद्ध पेनाल्टीमा गोल गरेका उनले वेल्सका लागि खेलिरहने बताएका छन्। तर उनी अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने विश्वकपमा सहभागी हुने सम्भावना न्यून छ।

यो वर्षका बालोन डोर विजेता करिम बेन्जेमाले कतारमा फ्रेन्च टिमको अग्रपंक्ति सम्हाल्ने विश्वास गरिएको थियो। तर विश्वकप सुरु हुनुअघि नै घाइते भएपछि उनी कतारी मैदानमा उत्रन पाएनन्। यस्तोमा उनले विश्वकपको मञ्चबाट बिदा माग्ने मौका गुमाए। रियल म्याड्रिडका कप्तान बेन्जेमाले जम्मा एकपल्ट विश्वकप खेलेका छन्। ३४ वर्ष पुगिसकेका उनले आउँदो विश्वकप खेल्ने कल्पना गर्न सकिँदैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =