तस्बिर साभार : हाम्रो रारा रैबार
सुर्खेत- मुगुको मन्दुमा एकै परिवारका चार जनाको हत्या भएको पाँच दिन हुँदा पनि दोषी पत्ता लगाउन सकिएको छैन। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखे पनि हत्यारा पहिचान हुन नसकेको हो।
छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए। ८ गते राति मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको सामूहिक हत्या भएको थियो।
प्रारम्भिक अनुसन्धानबाट चारैजनाको हत्या धारिलो हतियार प्रयोग गरेर गरिएको अनुमान प्रहरीले लगाएको छ । अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाले अपराधीसम्म पुग्न कठिन भइरहेको बताए। उनले भने, ‘घटना योजनाबद्ध रूपमा भएकाले गहन रूपमा अनुसन्धान अघि बढाएका छौँ। धारिलो हतियार पनि फेला परेको छैन। हत्या गरेपछि बाहिरबाट ताल्चा लगाएर भागेको रहेछ।’
उनले महिलाले लगाएको सुनका गहना पनि चोरी भएको थापाले बताए। उनले भने, ‘महिलाले लगाएको सुन पनि चोरी भएको छ। हामी नजिक पुगेका छौँ।’ गाउँमा कसैसित रिसइबी थियो कि भनेर सोधपुछ गर्ने क्रम पनि प्रहरीले जारी राखेको छ। यसैगरी फोन कलका आधारमा पनि अनुसन्धान अघि बढाइएको डीएसपी थापाले बताए।
प्रहरीले अनुसन्धानका क्रममा १२ जनाभन्दा बढी स्थानीयसँग सोधपुछ गरेको छ। साथै अनुसन्धानका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली पनि परिचालन भएको थापाले बताए। यअसघि प्रहरीले नेपालगन्जबाट खटिएको तालिमप्राप्त कुकुरसहितको टोलीले पनि अनुसन्धान गरेको छ। थापाले भने, ‘पोस्टमार्टमबाट पनि केही प्रमाण भेटिने आशा छ।’
चारै शव गमगढी लगिएको छ। जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको हो। श्रीदेवीका पति दीपक घर आइसकेपछि शव उठाइएको थियो।
मृतक श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन्। ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ।
छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए। १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गइन् कि भनी माइतीमा फोन गर्दा ८ गते नै फर्केको भनेपछि छिमेकीले गत शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको क्षतविक्षत शव देखेका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।


