काठमाडौँ- नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि शनिबारदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ।
शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने शुक्रबार नै समापन भएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि शुक्रबार नै समाप्त हो। शुक्रबार नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ।
अखिल बलिपूर्ति हुने दिन नै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने क्रम पनि शुक्रबार नै समापन गरिएको हो। लोकव्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आमनेपालीले आआफ्नो गच्छेअनुसार मनाउँछन्। आजको दिन सायंकालमा महालक्ष्मीको पूजाआराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी बताउँछन्।
माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजाआराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ। यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ। महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ।
कार्तिक स्नान गरी तुलसीको विशेष रूपमा गरिने पूजाआराधना पनि आजैदेखि सुरु गरिँदैछ। आकाशदीपदान पनि आजै साँझदेखि सुरु गरिने जनाइएको छ। आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने समितिले जनाएको छ। रासस