झापामा भ्रष्टाचार आरोपमा तीन कर्मचारी पक्राउ

हिमाल प्रेस २३ असोज २०८० २०:३९ | Tuesday, October 10, 2023
झापामा भ्रष्टाचार आरोपमा तीन कर्मचारी पक्राउ सांकेतिक तस्बिर।

झापा-  झापामा भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ परेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीनै जनालाई आज (मंगलबार) प्रहरीले पक्राउ गरेको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार आयोगबाट काजमा खटिएका भूमि आयोगका कर्मचारी मोहन नेपाल, विवेक पोखरेल र कमल खनाललाई पक्राउ गरिएको हो। हल्दिबारी-१ का गणेशप्रसाद पौडेलको भोगचलनमा रहेको १२ कठ्ठा ऐलानी जग्गाको मोठ कायम गरिदिने भन्दै घुसबापत ४० हजार रकम लिएको आरोपमा तीनैलाई प्रहरीले पक्राउ गरेको हो।

प्रजिअ पोखरेलका अनुसार जग्गाको नापी गर्दा लाग्ने राजस्व रकम बैंकमा बुझाउन लगाएपछि आयोगका ती कर्मचारीले ४० हजार नगद लिएका थिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले रकमसहित पक्राउ गरेको हो।

पीडित पौडेलले घुस लिएका कर्मचारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। प्रहरीले पक्राउ परेका सबै कर्मचारीको बयान लिएर अनुसन्धान कार्य अघि बढाएको जनाएको छ। -रासस

प्रकाशित: २३ असोज २०८० २०:३९ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast