कोशीमा कांग्रेसले फेरि पनि आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने

हिमाल प्रेस २३ असोज २०८० १३:३० | Tuesday, October 10, 2023
कोशीमा कांग्रेसले फेरि पनि आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने फाइल तस्बिर।

काठमाडौँ- गठबन्धनको नाममा राजनीतिक भूमरीमा परेको कोशी प्रदेश सरकार नेतृत्वका लागि नेपाली कांग्रेसले फेरि पनि दाबी गर्ने भएको छ। आज मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले कोशीमा फेरि पनि आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो।

पदाधिकारीहरूले आफ्नै दलको नेतृत्वमा सरकार गठनका लागि गठबन्धन दलसँग सोहीअनुसार कुरा गर्न सभापति देउवालाई सुझाव दिएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए। ‘कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै पदाधिकारीको सुझाव छ,’ उनले भने, ‘सबै पदाधिकारीको कुरा सुनेपछि सभापतिले पनि गठबन्धन दलका शीर्ष नेतासँग सोहीअनुसार कुरा गर्ने बताउनु भयो।’

यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा दुई पटक गठबन्धनको सरकार बनेको थियो। पहिलो पटक सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो। दोस्रो पटक विश्वासको मत लिँदा प्रदेशका सभामुखले दिएको विश्वासको मत सर्वोच्चले असंवैधानिक भएको थियो। त्यसपछि संविधानको उपधारा ३ अनुसार एमालेका हिक्मत कार्कीले असोज २० मा राजीनामा दिएपछि कोशीमा नयाँ सरकारको खोजी भइरहेको छ।

कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने यादवको भनाइ छ। उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र देउवाको छलफलपछि आज-भोलि नै गठबन्धनको बैठक बस्ने छ। ‘कोशी प्रदेशमा केन्द्रीय गठबन्धन अनुसार नै सरकार बन्छ। आज- भोलि नै गठबन्धनको बैठक बस्छ होला।’

कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् । एमालेका सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० र राप्रपाका ६ सांसद छन् । सत्ता गठबन्धनले राप्रपालाई पनि साथमा लिएर सरकार बनाउने प्रयास थालेको छ।

प्रकाशित: २३ असोज २०८० १३:३० | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast