काठमाडौँ– नेपाल कला परिषद्, बबरमहलमा सम्भोता/भोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला गरिएको छ। बीपी कोइराला भारत–नेपाल फाउण्डेसन र नेपाल बौद्ध महासंघले संयुक्त रूपमा प्रदर्शनीको आयोजना गरेका हुन्।
कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवद्र्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्त रूपमा गरे।
प्रदर्शनीमा सिक्किम भारतबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले कोरेका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू राखिएका छन्। दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरी सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए।
राज्यमन्त्री प्रमिला कुमारीले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गरिन्। उनले नेपाल र भारतका लागि बौद्ध धर्म एक साझा धागो भएको बताइन्।
जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गरे। उनले नेपालमा शताब्दीयौंदेखि पवित्र र महत्त्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताए।
कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघसंस्था तथा भोट तथा बौद्धधर्म अध्यनरत विद्यार्थीहरूको उपस्थिति थियो। यो प्रदर्शनी भोलि (शनिबार) सम्म हुनेछ।




