विभिन्न विश्वविद्यालयले स्नातक तहमा भर्नाका लागि आवेदन माग गरेका छन्। नेपालका विश्वविद्यालयहरूको स्नातक तहमा इन्जिनियरिङ, चिकित्साशास्त्र, विज्ञान, व्यवस्थापन, कानुन, शिक्षाशास्त्र, मानविकी जस्ता संकायमा पठनपाठन हुन्छन्। यहाँ व्यवस्थापन संकायअन्तर्गत बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) का बारेमा छोटो चर्चा गरिएको छ।
व्यवस्थापन संकायअन्तर्गत बीबीएसहित ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्ट (बीटीटीएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम) जस्ता कार्यक्रम सञ्चालित छन्।
यसबाहेक ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बैंकिङ र बिमा), ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्टका कार्यक्रम हुन्। बीबीएस नियमित कार्यक्रम हो। त्रिभुवन विश्वविद्यालयका अधिकांश कलेजमा पढाइ हुने बीबीएस चारबर्से कोर्स हो। यसमा वार्षिक परीक्षा सञ्चालन हुन्छ। यसलाई कतिपयले एकेडेमिक कोर्स पनि भन्ने गरेका छन्।
व्यवस्थापनका धेरै विषय भए पनि विद्यार्थीको रोजाइ बीबीएमा देखिन्छ। त्यसैले पनि होला अधिकांश विश्वविद्यालयमा चारबर्से सेमेस्टर प्रणालीबाट बीबीए पढाइ हुन्छ। बीबीए भर्ना प्रक्रिया भने विश्वविद्यालयपिच्छे भिन्नभिन्न छन्। बीबीएको कोटाचाहिँ तोकिएको हुन्छ। नियमित विषयमा जसरी जति पनि विद्यार्थी भर्ना गर्न मिल्दैन। काठमाडौँ विश्वविद्यालयका केही क्याम्पसमा सीमित कोटामा बीबीए पढाइ हुन्छ। ती क्याम्पसमा क्युम्याट (प्रवेश परीक्षासहित भर्ना प्रक्रिया) पूरा गरी बीबीएको कक्षा सञ्चालन हुन थालिसकेको छ।
मध्यपश्चिम विश्वविद्यालयको सुर्खेतस्थित स्कुल अफ म्यानेजमेन्टमा बीबीएको पढाइ हुन्छ। विश्वविद्यालयले असोज ११ गतेसम्म प्रवेश परीक्षाका लागि फाराम बुझाउनुपर्ने मिति तोकेको छ। सुदूरपश्चिम विश्वविद्यालयको कैलाली बहुमुखी क्याम्पसमा ९६ सिटका लागि बीबीए कार्यक्रम सञ्चालित छ।
त्रिभुवन विश्वविद्यालयले प्रवेश परीक्षा (सीम्याट) लिएर बीबीएमा भर्ना गर्दै आएको छ। त्रिविले सीम्याटका लागि भदौ ३१ गतेसम्मको मिति तोकेको छ भने परीक्षा असोज १३ गते हुनेछ। त्रिविको सिम्याटमा सहभागी हुन कक्षा १२ को परीक्षामा न्यूनतम डी ग्रेड र हरेक विषयमा जीपीए १.८ ल्याउनुपर्छ। साथै २०७८ सालअघि कक्षा ११ र १२ को परीक्षामा सहभागी विद्यार्थीले न्यूनतम डी प्लस ग्रेड ल्याएको हुनुपर्छ भने जीपीए १.८ हुनुपर्छ। बीबीए पढाइ हुने अन्य विश्वविद्यालयमा पनि यस्तै प्रावधान राखिएको छ।
पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयका बीबीए पढाइ हुने कलेजले आआफ्नो मापदण्ड निर्धारण गरेर विद्यार्थी भर्ना आह्वान गरेका छन्। पोखरा विश्वविद्यालयका ४० जति क्याम्पसमा बीबीए पढाइ हुन्छ। यस्तै पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित अधिकांश क्याम्पसम बीबीए पढाइ हुन्छ।
त्रिविका आंगिक क्याम्पसहरू राजधानीभित्रका नेपाल कमर्स क्याम्पस, शंकरदेव क्याम्पस, पद्मकन्या क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती क्याम्पस, पाटन संयुक्त क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पसमा बीबीए पढाइ हुन्छ। यसबाहेक त्रिविका देशभरका अधिकांश आंगिक क्याम्पसमा बीबीए पढाइ हुन्छ भने सम्बन्धन प्राप्त सामुदायिक र निजी क्याम्पसमा पनि बीबीए पढाइ हुँदै आएको छ। विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई दर्जनभन्दा बढी कलेजमा बीबीए पढाइ हुँदै आएको छ।
चारबर्से बीबीए कोर्स पूरा गर्न विश्वविद्यालय र क्याम्पसैपिच्छै फरकफरक शुल्क तोकिएको पाइन्छ। काठमाडौँ विश्वविद्यालयका कलेजमा बीबीए पढ्न न्यूनतम ८ लाख ६० हजार खर्च लाग्छ। यस्तै पोखरा र पूर्वाञ्चल विश्वविद्यालयका कलेजमा न्यूनतम तीन लाख ५० हजारसम्म शुल्क तोकिएको छ। सुविधा र सिकाइ स्तरअनुसार बढी शुल्क लिएर पढाउने कलेज पनि धेरै छन्।
त्रिभुवन विश्वविद्यालयका कलेजमा बीबीए पढ्न न्यूनतम २ लाख रुपैयाँ शुल्क तिर्नुपर्छ। सम्बन्धन प्राप्त कलेजले भने बढी शुल्क लिएर पठनपाठन गर्दै आएका छन्। यस्तै मध्यपश्चिम विश्वविद्यालयबाट चारबर्से बीबीएका लागि न्यूनतम तीन लाख ५० हजार रुपैयाँ शुल्क तोकिएको छ। विदेशी विश्वविद्यालका कोर्स भने तुलनात्मक रूपमा महँगा हुन्छन्।
बीबीएमा अंग्रेजी, लेखा, गणित, अर्थशास्त्र, व्यवस्थापनको सिद्धान्त, कम्प्युटर सिस्टम, वित्त व्यवस्थापन, व्यवसाय कानुन, बजार सिद्धान्त, मानव संसाधन व्यवस्थापन जस्ता विषय पढाइ हुन्छन्। बीबीएमा सैद्धान्तिकभन्दा बढी प्रायोगिक कक्षाहरू सञ्चालन गरिन्छ। त्यसबाट विद्यार्थी उद्यमी बन्न उत्प्रेरित हुन्छन्। उनीहरूमा नेतृत्वदायी क्षमताको साथै व्यवस्थापकीय कौशल विकास हुने अपेक्षाले पाठ्यक्रम निर्धारण गरिएको देखिन्छ। पढाइकै क्रममा विद्यार्थीहरू विभिन्न घटना अध्ययन, सेमिनार, कार्यशाला, बहस, प्रकाशन, क्षेत्र भ्रमणजस्ता गतिविधिमा सामेल हुन्छन् भने इन्टर्नसिपमार्फत विभिन्न सीपको विकास गर्ने अवसर पाउँछन्।
बैंक तथा वित्तीय क्षेत्रहरूमा बीबीए पूरा गरेका जनशक्तिको माग बढी हुने गरेको छ। प्रयोगात्मक ज्ञान हासिल हुने भएकाले पढाइ सकिनेबित्तिकै बजारमा बिक्न सजिलो हुने जानकारहरू बताउँछन्। अध्ययनलाई निरन्तरता दिन चाहनेका लागि स्वदेश तथा विदेशका विश्वविद्यालयमा एमबीएमा भर्नाको बाटो खुल्नेछ। यसैगरी निजी क्षेत्रमा जागिर खान र लोकसेवा आयोग पास गरेर सरकारी सेवामा जान पनि बीबीए उपयोगी मानिन्छ। पढिसकेपछि आफैँ केही गर्छु भन्ने उत्साह पनि विद्यार्थीमा थपिन्छ। बीबीए पढेपछि धेरै अवसर पाइने भएकाले पनि यसतर्फ विद्यार्थीको रुचि बढेको हो।
शिक्षाशास्त्र नै पढ्नुपर्ने किन? [देशभरका शिक्षा क्याम्पसको सूचीसहित]


