शिक्षाशास्त्र नै पढ्नुपर्ने किन? [देशभरका शिक्षा क्याम्पसको सूचीसहित]

हिमाल प्रेस १२ भदौ २०८० ८:२५
8.9k
SHARES
शिक्षाशास्त्र नै पढ्नुपर्ने किन? [देशभरका शिक्षा क्याम्पसको सूचीसहित] शिक्षक सेवा आयोगले लिएको परीक्षामा सहभागी परीक्षार्थी। तस्बिर साभार : शिक्षक मासिक

काठमाडौँ- नेपालमा बर्सेनि शिक्षाशास्त्र पढेका जनशक्तिको माग बढ्दो छ। सरकारी विद्यालयमा पढाउन शिक्षा विषय पढेकै हुनुपर्छ। निजी विद्यालयले पनि शिक्षक नियुक्ति गर्दा शिक्षाशास्त्र पढेका जनशक्तिलाई प्राथमिकता दिने गरेका छन्।

विज्ञहरू अब्बल शिक्षक बन्नका लागि शिक्षाशास्त्र पढ्नैपर्ने बताउँछन्। सोही कारण सरकारले शिक्षाशास्त्र पढेका जनशक्तिलाई मात्रै शिक्षकको प्रतिस्पर्धामा सहभागी गराउँदै आएको छ। बालबालिकाको मनोविज्ञान, शारीरिक र मानसिक विकास, सिकाइ स्तर र शिक्षण क्रियाकलापका विभिन्न पक्षबारे बुझ्न शिक्षाशास्त्र नपढी नहुने त्रिवि शिक्षाशास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा.डा. शोभाखर कँडेलले बताए।

उनले भने, ‘शिक्षाशास्त्र पढ्नु भनेको योग्यता बढाउनु मात्रै होइन, शिक्षक सेवा आयोगको परीक्षाका लागि तयारी पनि हो।’ शैक्षिक सामग्रीको प्रयोग गरी पाठ्यक्रमको उद्देश्य पूरा गर्न बालबालिकाको रुचि र आवश्यकताअनुसार शिक्षण सिकाइ गर्ने कला शिक्षाशास्त्र पढेकाले नै सिकेका हुन्छन्।

स्नातक तह पूरा गर्नेबित्तिकै आयोग पास गरेर माध्यमिक तहको स्थायी शिक्षक बनेका धेरै उदाहरण छन्। घरपायकमै जागिर पाइने, परिवारसँग बसीबसी बालबालिकालाई पढाउन मिल्ने र पेसाको स्थायित्व हुने भएकाले पनि शिक्षण पेसा सजिलो छ। बिहानबेलुका खेतीकिसानी वा अन्य ससाना व्यवसायको रेखदेखसहित जागिर खानेहरूको आर्थिक र सामाजिक हैसियत पनि राम्रै हुन्छ।

स्थायी शिक्षकले पाउने सेवासुविधा पनि लोभलाग्दो छ।  दसैँ,  हिउँदे, बर्खे गरेर शिक्षकले झन्डै दुई महिना बिदा पाउँछन्। वर्षमा भैपरी आउने बिदा ६ दिन, पर्वबिदा ६ दिन, बिरामी बिदा १२ दिन (सञ्चित), प्रसूति बिदा ६० दिन, प्रसूति स्याहार बिदा १५ दिन, किरिया बिदा १५ दिन, अध्ययन बिदा ३ वर्ष, असाधारण बिदा ३ वर्ष र बेतलबी बिदा ५ वर्षसम्म शिक्षकले पाउने अन्य बिदा हुन्।

शिक्षकले तलबबाहेक पोसाक भत्ताबापत रकम पाउँछन्। यस्तै नियमानुसारको ग्रेड, सञ्चय कोष, बिमा कोष, चाडपर्व खर्च, महँगी भत्ता, स्थानीय भत्ता, प्राविधिक धारका शिक्षक भए भत्ता र प्रधानाध्यापकबापतको भत्ता शिक्षकले पाउने अन्य भत्ता हुन्।

पाँच वर्ष स्थायी सेवा गरेपछि बढुवाका लागि योग्य भइन्छ भने तल्लो तहमा स्थायी भएका शिक्षकलाई माथिल्लो तहमा प्रतिस्पर्धा गर्न उमेरको हदबन्दी लाग्दैन। शिक्षक नियुक्ति तृतीय श्रेणीमा हुन्छ। त्यसपछि द्वितीय र प्रथम श्रेणीमा बढुवा हुन्छ। जस्तै- प्रावि तृतीय, निमावि तृतीय र मावि तृतीय खुला प्रतिस्पर्धाबाट नियुक्त गरिन्छ। तीनै तहको द्वितीय र प्रथम श्रेणी भने आन्तरिक बढुवाबाट गरिन्छ। शिक्षाशास्त्र पढेका जनशक्ति निजामतीतर्फको लोकसेवाको शिक्षा सेवा, विद्यालय निरीक्षक आदिलगायत प्रशासन सेवामा पनि योग्य हुन्छन्।

निजामतीसरह सुविधा चाहिन्छ भनेर माग गर्दा शिक्षकले पाउने यस्ता बिदा र सुविधाका कुरा भने ओझेलमा परेका हुन्छन्। पछिल्लो समय विभिन्न प्रकारका शिक्षकले पेसागत स्थायित्वको माग गर्दै आन्दोलन गर्दै आएका छन्। कतिपयलाई शिक्षक त आन्दोनलका लागि मात्रै हो कि भन्ने पनि लाग्न सक्छ। तर स्थायी शिक्षक प्रायः सडकमा आइरहनु पर्दैन।

नेपाल शिक्षक संघका केन्द्रीय कार्यसमितिका अध्यक्ष सोमनाथ गिरी भन्छन्, ‘आन्दोलन त पेसागत स्थायित्व र समग्र शिक्षा क्षेत्रको सुधारका लागि हुने हो। शिक्षकको मुख्य काम कक्षाकोठामा पढाउनु हो। स्थायी भइसकेपछि त कुनै समस्या हुँदैन। पेसा र मुलुकको शैक्षिक भविष्य जोखिममा पर्दा बेलाबेलामा सडकमा आउनु स्वाभाविकै हो।’

देशका विभिन्न कलेजमा शिक्षाशास्त्र स्नातकका लागि भर्ना खुलेको छ। त्यसैले कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका व्यक्तिले शिक्षण पेसा रोज्ने हो भने ती कलेजमा भर्ना हुनैपर्छ। स्नातक तहमा शिक्षाशास्त्र पढ्नका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त कलेजहरू पर्याप्त छन्।

त्रिविका आंगिकमध्ये २६ वटामा शिक्षाशास्त्रमा स्नातक पढाइ हुने सहायक डिन कँडेलले जानकारी दिए। उनका अनुसार त्रिविबाट सम्बन्धन लिएर ५१२ क्याम्पसले शिक्षाशास्त्र पढाइरहेका छन्। आंगिकमध्ये तीनवटा भने काठमाडौँ उपत्यकामा (त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर, ताहाचल क्याम्पस ताहाचल र भक्तपुर शिक्षा क्याम्पस) छन्।

स्नातकमा शिक्षा पढ्नका लागि कक्षा १२ को परीक्षामा कम्तीमा सी प्लस ल्याएको हुनुपर्छ भने ग्रेड प्वाइन्ट २.१ चाहिन्छ। स्नातकमा शिक्षाशास्त्र पढ्न १२ मा शिक्षा नै पढेको हुनुपर्छ भन्ने छैन। मानविकी, विज्ञान र व्यवस्थापनमा १२ पास गरेका व्यक्तिले पनि बीएड पढ्न पाउँछन्। एकबर्से बीएड भने अन्य संकायमा स्नातक गरेकाहरूका लागि हो।

शिक्षाशास्त्रमा कमजोर विद्यार्थीले मात्रै पढ्ने भएकाले दक्ष जनशक्तिको आकर्षण यसतर्फ नभएको भनेर आलोचना हुने गरेको छ। तर सरकारले शिक्षाशास्त्र पढ्नका लागि विशेष प्राथमिकता दिने हो भने यस्तो समस्या नहुने जानकारहरू बताउँछन्। आकर्षण नभएका कारण विज्ञान, गणितजस्ता विषयमा शिक्षक नपाउने समस्या छ।

त्रिविका आंगिक तथा सम्बन्ध प्राप्त क्याम्पसहरूमा शिक्षाशास्त्र संकायतर्फ चारबर्से स्नातक (बीएड) मा अंग्रेजी, नेपाली, गणित, विज्ञान, अर्थशास्त्र, भूगोल, स्वास्थ्य तथा शारीरिक, जनसंख्या, इतिहास, राजनीतिशास्त्र, मनोविज्ञान, शिशाको दर्शन, शैक्षिक योजना र व्यवस्थापन, पाठ्यक्रम र मूल्यांकनजस्ता विषय पढाइ हुन्छन्। शिक्षा स्नातकमा सामाजिक अध्ययन र आईसीटी पनि पढाइ हुन थालेको छ। यी विषय भने त्रिविबाट क्यूएए (शैक्षिक गुणस्तर सुनिश्चितता) प्राप्त कलेजमा मात्रै पढाइ हुने कँडेलले जानकारी दिए। बीएड आईसीटी सेमेस्टर प्रणालीमा पढाइ हुनेछ।

त्रिविमा हाल चारवर्षे स्नातक अध्ययन हुन्छ। चार वर्ष स्नातकलाई अब तीन वर्षमा झार्ने प्रस्ताव गरिएको सहायक डिन कँडेलले बताए। उनले भने, ‘हामीले प्रस्ताव गरेका छौँ। अब चाँडै तीन वर्ष कायम हुन सक्छ। अहिले भने चार वर्षेकै लागि भर्ना आह्वान गरिएको हो।’ चारबर्से भनिए पनि ट्रान्सकिप्ट लिने अवस्थासम्म पुग्दा ६ वर्ष लाग्ने गुनासो आएपछि तीन वर्षमा झार्न लागिएको विश्वविद्यालयका अधिकारीहरू बताउँछन्।

बीएड पढ्नका लागि त्रिविका आंगिक क्याम्पसमा वार्षिक ७ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ। यसमा क्याम्पसहरूले विपन्न, मेहनती र नियमित क्याम्पस आउने विद्यार्थीका लागि विभिन्न प्रकारका छात्रवृत्तिको पनि व्यवस्था गरेका हुन्छन्। सम्बन्धन प्राप्त कलेजले भने केही बढी शुल्क लिएर पठनपाठन गर्दै आएका छन्। सम्बन्धन प्राप्त कलेजहरूले भने भर्ना शुल्क न्यूनतम पाँच हजार रुपैयाँसम्म लिने गरेका छन्। यस्तै मासिक शुल्क एक हजार रुपैयाँ, परीक्षा शुल्कसमेत गरी जम्मा वार्षिक बढीमा २० हजारसम्ममा शिक्षा विषयमा स्नातक पढ्ने सकिने सम्बन्ध प्राप्त कलेजका सञ्चालकहरू बताउँछन्।

विज्ञान, इन्जिनियरिङ, व्यवस्थापनका केही विषयमा जस्तो शिक्षाशास्त्र पढाइ हुने कलेजमा सिटसंख्या तोकिएको हुँदैन। त्यसैले भर्ना पाउन पनि सजिलो हुन्छ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गतको स्नातक (चारबर्से बीएड) पढाइ हुने क्याम्पसहरू

इन्जिनियरिङ : कसले पढ्न पाउँछन्, कहाँ पढ्ने?

प्रकाशित: १२ भदौ २०८० ८:२५

प्रतिक्रिया

One thought on “शिक्षाशास्त्र नै पढ्नुपर्ने किन? [देशभरका शिक्षा क्याम्पसको सूचीसहित]

  1. MPA ko पढाइ , नेपालभरी कुन ठाउँ र क्याम्पसमा हुन्छ ? जनकारी पाउ । सर/ म्याम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast