गौरा पर्वमा शुभकामना दिँदै राष्ट्रपतिले भने : चाडपर्वले नै एकता बढाउँछ

हिमाल प्रेस ७ भदौ २०८० ६:२० | Thursday, August 24, 2023
गौरा पर्वमा शुभकामना दिँदै राष्ट्रपतिले भने : चाडपर्वले नै एकता बढाउँछ राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गरी उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यो पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

उनले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रसन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन्।

‘यो पर्वका अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्ने गर्दछन्’, उनको सन्देशमा भनिएको छ, ‘यो पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराका सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकाले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहेको देखिन्छ।’

उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको पनि सन्देशमा उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: ७ भदौ २०८० ६:२० | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast