वागीशा : विद्यालयपछिको विद्यालय

हिमाल प्रेस ३२ साउन २०८० १९:०२
196
SHARES
वागीशा : विद्यालयपछिको विद्यालय

काठमाडौँ, बानेश्वर, थापागाउँबाट सरस्वती मार्ग लाग्नेबित्तिकै देखिन्छ, वागीशा शिक्षाभ्यास। आँगनमा खेलिरहेका केटाकेटी। कोही खाइरहेका त कोही पढिरहेका। ठूलो कम्पाउन्ड। टन्नै साना गाडी। झट्ट हेर्दा विद्यालयजस्तो देखिन्छ। ससाना नानीबाबुको बाक्लो उपस्थितिले स्कुलकै भान दिन्छ। ‘विद्यालय हो भने ड्रेस त कुनै विद्यार्थीले लगाएका छैनन्?’ धेरैको मनमा उब्जिन सक्ने प्रश्न हो।

वागीशा विद्यालयपछिको विद्यालय हो। जसका सञ्चालक हुन्, सुवास थापा। १७ वर्षयता उनले यो शिक्षाभ्यास चलाइरहेका छन्। ‘२०६४ सालमा पुरानो बानेश्वरमा रहेको आफ्नो घरबाट वागीशाको सुरुवात गरेको हुँ,’ उनी सम्झिन्छन्। ‘वागीशा’, कतिपयका लागि यो नामै नौलो हुन सक्छ। त्यसको अर्थ खुलाउँदै सञ्चालक थापा भन्छन्, ‘ससाना केटाकेटीलाई ज्ञान दिन खोलिएकाले सरस्वतीकै नामबाट नामकरण गरिएको हो,’ उनी भन्छन्, ‘वागीशा सरस्वती माताका १ हजार ८ नाममध्ये एक हो। साथै यहाँ बालबालिकालाई शिक्षाको अभ्यास गराइने हुनाले शिक्षाभ्यास भनिएको हो।’

कामकाजी दम्पतीको व्यस्त दिनचर्यालाई दृष्टिगत गरी थापाले वागीशा खोलेका हुन्। बालबालिका बिहान घरबाट स्कुल जान्छन्। फर्किँदा वागीशामा ओर्लिन्छन्। विद्यार्थी विद्यालयबाट सीधै वागीशा आउँछन्। हातमुख धोएर, खाजा खाएर गृहकार्य गर्न थाल्छन्।

‘स्कुलपछि घरमा छोराछोरीको हेरचाह गर्ने मान्छे नहुने कामकाजी दम्पतीका लागि हामीले यो शिक्षाभ्यास खोलेका हौँ,’ थापा भन्छन्, ‘अफिसबाट छिटो आउन नमिल्ने अनि घरमा बच्चा हेर्ने मान्छे नहुने समस्याले धेरै आमाबुबालाई सताएको हुन्छ। त्यस्तो जोडीले हाम्रोमा ढुक्कले आफ्ना सन्तान छोड्न सक्छन्।’

बैंकका कर्मचारी, चिकित्सक, सरकारी जागिरेलगायतका छोराछोरी वागीशामा आउने गर्छन्। त्यहाँ हेरचाहमात्र पाउँदैनन् केटाकेटीले नजानेका कुरा पनि सिक्न पाउँछन्। थापा भन्छन्, ‘गृहकार्य गराउँछौँ, नजानेका विषयमा अध्ययन गराउँछौँ, जुन विषयमा बच्चा कमजोर छ, त्यसमा ध्यान दिन्छौँ।’

बालबालिकालाई पढाउने, खेल्नेमात्र नभई अभ्यास, योग, ध्यान पनि त्यहाँ गराइन्छ। ‘खाना खान सिकाउने, लुगा लगाउने आदि विषयमा ज्ञान दिने गर्छौं,’ थापा भन्छन्, ‘केटाकेटीलाई खेलाईखेलाई सिकाउँछौँ। शिक्षा र संस्कार दिने लक्ष्यसहित वागीशा सञ्चालनमा ल्याएको हुँ।’

दिउँसो साढे ३ मा शिक्षाभ्यासको गेट खुल्छ। अनि बिस्तारै विद्यार्थी आउन थाल्छन्। ‘फ्रेस हुन्छन्, खाजा खान्छन्, गृहकार्य गर्छन्, खेल्छन्, रमाउँछन्, ध्यान गर्छन् अनि बेलुका घरतिर लाग्छन्,’ थापा भन्छन्। शिक्षाभ्यासको मोटरमा हरेक बच्चालाई अभिभावकको दैलोसम्म पुर्‍याइने गरिएको छ।

विद्यार्थीले नबुझेका विषयलाई वागीशाका प्रशिक्षित शिक्षकले राम्ररी बुझाउँछन्। सिकाउँछन्। काठमाडौँका ठूल्ठूला र राम्रा भनिएका स्कुलका विद्यार्थी वागीशामा आएका छन्। आउने गरेका छन्। ‘आफ्ना विद्यार्थीले प्रगति गरेको सुन्दा खुसी लाग्छ,’ थापा भन्छन्, ‘वागीशामा हेरचाह गरिएका ससाना विद्यार्थी ठूला भएर अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्ने भइसकेका छन्।’ वागीशाले विद्यालयको गृहकार्यमात्र गराउँदैन, जीवनमा उपयोगी हुने शिक्षा पनि दिन्छ।

सुवास थापा काठमाडौँ, पुरानो बानेश्वरका रैथाने हुन्। ‘थर थापा भए पनि म थापागाउँको भने होइन,’ हाँस्दै उनी भन्छन्, ‘तर थापागाउँ मेरो कर्मथलो बनेको छ।’

एमबीएस गरेका उनी गणित विषय पढाउँछन्। ‘प्लस टूपछि मेरा धेरै साथी विदेश हानिए म पनि जान सक्थेँ तर मेरो आमालाई छोडेर विदेश जान मनले मानेन,’ उनी सुनाउँछन्, ‘यही केही गर्नुपर्छ भन्ने लाग्यो।’ स्वदेशमै केही गर्ने तर के काम गर्ने? अन्योल भयो। एसएलसी पास गरेदेखि नै पढाउन थालेका थिए। त्यसमै केही गर्छु भन्ने लागेर विद्यालय पछिको विद्यालयको सोच आयो। भन्छन्, ‘एक दिन एक महिलालाई विद्यालयको छुट्टीपछि त्यहीँ निदाइरहेको बच्चालाई डोर्‍याएर ल्याएको देखेपछि विद्यालयपछिको विद्यालय चलाउने योजना बनाएँ।’

कामको सुरुवात घरबाटै भयो। आफ्नो घरमै विद्यालयपछि विद्यार्थीलाई पढाउने, गृहकार्य गराउने अनि बेलुका घर पुर्‍याउने काम गर्न थाले। एकातिर आफ्नो पढाइ बढ्दै गयो। अर्कोतिर बिस्तारै विद्यार्थी संख्या पनि। त्यसपछि पढाउनका लागि घर साँघुरो लाग्न थाल्यो। अनि त्यहाँबाट सर्ने सोच बनाए।

‘प्रायः स्कुल ३ बजे छुट्छन्,’ उनी भन्छन्, ‘सहरमा धेरैजसो अभिभावक कामकाजी नै हुन्छन्। बच्चा स्कुलबाट घर फर्केपछि के गर्ने? कहाँ राख्ने? भन्ने समस्या हुन्छ। आमाबुबालाई यही सुविधा दिने विचारले उतिखेर वागीशा खोलेँ।’

छोराछोरीका लागि शिक्षक राख्दा महँगो पर्ने अनि विश्वासको वातावरण पनि बन्न गाह्रो हुने भएकाले वागीशा धेरैको रोजाइमा परेको उनी बताउँछन्। ‘आफूले सिकाउँदा बच्चाले सिक्न नमानेपछि पनि कतिपय अभिभावक वागीशा पुग्ने गर्छन्,’ थापा सुनाउँछन्, ‘वागीशाका प्रशिक्षित शिक्षकले बालबालिकाले बुझ्ने गरी सिकाउँछन्। बच्चाहरूले मान्छन् पनि।’

कामकाजी अभिभावक कार्यालयमा रहँदा उनीहरूका छोराछोरी स्कुलबाट सीधै वागीशा पुगिसकेका हुन्छन्। यहाँका कर्मचारीले घरमै पुगेर बच्चालाई अभिभावकको जिम्मा लगाउने गर्छन्। ‘वागीशामै सक्काएकाले आमाबुबालाई गृहकार्य गराउने तनाव हुँदैन,’ थापा भन्छन्, ‘उनीहरूले आफ्ना छोराछोरीसँग क्वालिटी टाइम बिताउन पाउँछन्। जसले अभिभावक र सन्तानबीच मायाप्रेम बढ्छ। राम्रो सम्बन्ध बन्छ।’ वागीशाले विद्यालयमा दिइएको शिक्षालाई थप निखार्ने काम गर्छ। नाम चलेका र घरानिया भनिएका विद्यालयमा समेत नसिकेका कुरा विद्यार्थीले वागीशामा सिक्ने थापा बताउँछन्।

प्रकाशित: ३२ साउन २०८० १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast