कांग्रेसले भन्यो- प्रधानमन्त्री बालेन छापामार शैलीमा संसद्‌मा नआऊन्

हिमाल प्रेस २७ जेठ २०८३ १६:३६ | Wednesday, June 10, 2026
22
SHARES
कांग्रेसले भन्यो- प्रधानमन्त्री बालेन छापामार शैलीमा संसद्‌मा नआऊन्

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै संसद् आवश्यक छ कि छैन भन्ने बहस उठेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा बैठकलाई बुधबार सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा लक्षित गर्दै भने, ‘प्रधानमन्त्रीलाई संसद् चाहिँदैन होला, तर प्रतिपक्षलाई चाहिएको छ।’

उनले प्रधानमन्त्रीको व्यवहार र अभिव्यक्तिप्रति संकेत गर्दै कडा आलोचना गरे। ‘फेरि छापामार शैलीमा कुनै दिन प्रधानमन्त्री आउनुहोला, फेरि अर्को त्यस्तो नहोस्’, उनले भने, ‘डर लाग्छ कुनै उद्दण्डता मच्चाइदिनुहोला  तर अब उपरान्त म उहाँलाई खोज्न चाहन्नँ, किनभने मेरो मुलुकको समस्या उहाँको उपस्थितिभन्दा पनि ठूलो र संवेदनशील छ।’

आङ्देम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिमा अल्झिएर संसद्को समय खेर फाल्न नचाहेको पनि बताए। उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि रहेको दुनियाँलाई जानकारी रहेको उल्लेख गरे। उनले भने, ‘विषयको हल उत्तेजना र आवेगले नभई गहन संवाद र कूटनीतिक प्रक्रियाबाट खोज्नुपर्छ।’

कूटनीतिक माध्यमबाट सीमासम्बन्धी विवाद समाधान गर्न आफूहरू सधैँ सरकारको साथमा रहे पनि सरकार यसप्रति गम्भीर नदेखिएको उनले जिकिर गरे। विगतमा कांग्रेसका प्रधानमन्त्री र मन्त्रीहरूले गल्ती गर्दा कांग्रेसका सांसदहरूले प्रतिनिधिसभाबाट प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले अहिले सीमासम्बन्धी प्रधानमन्त्रीको वक्तव्यमा सत्ताधारी दलका सांसदले बोल्न नसक्दा अचम्म लागेको बताए। आङ्देम्बेले उनले नेपाल कुनै पनि मुलुकको उपनिवेश नबनेको स्मरण गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast