पुस्तक चर्चा

व्यापारमा रूखझैँ फैलिएका शिव

संगीता श्रेष्ठ २० साउन २०८० ११:४५
40
SHARES
व्यापारमा रूखझैँ फैलिएका शिव

‘तिम्रो भविष्य तिम्रो हातमा छ।’ यस भनाइमा विश्वास गर्छन्, व्यवसायी शिवप्रसाद घिमिरे। भाग्यभन्दा कर्म बलियो हुने कुरामा विश्वस्त छन् उनी। त्यसैले ‘जीवन कस्तो बनाउने त्यो मान्छेको आफ्नै हातमा हुन्छ’ भन्ने गर्छन्।

विद्यार्थी जीवनमा घुम्ती पसल थापेर व्यापार सुरु गरेका शिव घिमिरे नेपालका नाम चलेका व्यापारीमा गनिन्छन्। किराना, कपडा पसल, धान-चामलको व्यापार, पेट्रोलपम्प, गाडी, ग्यास, चिया बगान, हाइड्रोपावर, विद्युतीय सवारीसाधनलगायत धेरै काममा हात हालेका छन् उनले।

घिमिरे आफूले ‘शून्य’ बाट व्यापार सुरु गरेको बताउँछन्। शून्यअगाडि अंक थपिँदै गए। अंकसँगै अझै शून्य पनि थपिँदै गए। व्यापार मलिलो बन्यो। फस्टायो। अनि उनी बने चल्तीका व्यापारी।

यिनै घिमिरेले आफ्नो व्यापार यात्रालाई ‘शून्यबाट सुरु भएको व्यापार अपार’ किताबका रूपमा उतारेका छन्। यो उनको जीवनको कथा हो। व्यापारको कथा हो। उनको जीवनमा आएका उतारचढाव, चुनौती त्यसमा अटाएका छन्। शून्यबाट व्यापार सुरु गरेर पनि मनग्ये धनसम्पत्ति कमाउन सकिन्छ भन्ने कुराको बलियो उदाहरण हो किताब। पैसा भएमात्र व्यापार अपार हुन्छ भन्नेका लागि भने गतिलो जवाफ हो यो किताब।

व्यापारमा शून्य भयो सबैले हेलाँ गर्ने र त्यसै शून्यका अगाडि अंक र पछाडि अझै शून्य थपिँदै जाँदा समाजले हेर्ने दृष्टिकोण पनि भव्य र सभ्य हुने कुरा किताबले प्रस्ट पार्छ।
किताब पाँच खण्डमा विभाजित छ। ‘धामिडाँडादेखि आमभञ्ज्याङसम्म’ शीर्षकको पहिलो खण्डमा शिव घिमिरेको जन्म, बाल्यकाल र पारिवारिक पृष्ठभूमिबारे लेखिएको छ।

घिमिरे २०२० सालमा ललितपुरको गोटिखेल गाविस धामिडाँडामा एक किसान परिवारमा जन्मिएका हुन्। उनका दुई दाजु, दुई दिदी र एक बहिनी छन्।  रूढिवादी परम्पराले गाँजेका उतिखेरको पुरुषसत्तात्मक समाजका कुरा किताबमा छन्। चिप्लो माटोको बाटोमा घोडामा हिँड्ने जिम्दार हजुरबाका तीन हजुरआमा भएको कुराले त्यतिबेला बहुविवाहको प्रचलन रहेछ भन्ने देखाउँछ।

गोटिखेल गाउँ पञ्चायतमा रहेको विद्यालयमा पाटी र खरीले पढेलेखेका विद्यार्थी हुन्, शिव घिमिरे। एकपटक लेखिएको पार्टीलाई तितेपाती र बनमारा झारले सफा गर्ने गर्थे। तितेपाती र बनमारा उहिल्यैका डस्टर। खेतीपाती र गोठभरि बस्तुभाउ। चरन र डाले घाँसको जिम्मा शिवकै थियो।

२०२९ सालमा घिमिरेको परिवार बसाइँ सर्‍यो। ललितपुर धामिडाँडाबाट मकवानपुर आमभञ्ज्याङ। धामिडाँडा विकट थियो। पहाडको बाटो घण्टौँ पैदल हिँडेर लेले, चापागाउँ बजार पुग्नुपर्थ्यो।

धान किन्नकै लागि मकवानपुरको फापरबारी पुग्नुपर्ने र किनमेल गर्न दुई दिनको कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको घिमिरेले किताबमा उल्लेख गरेका छन्। यही अप्ठ्यारोले घिमिरे परिवारलाई धामिडाँडाबाट मकवानपुर पुर्‍यायो। त्यतिबेला शिव घिमिरे नौ वर्षका थिए। बागमतीको किनारैकिनार, बगरैबगर पैदल हिँडेर एक हल गोरुका साथमा बसाइँ सरेको थियो घिमिरे परिवार।

बाटोमा एक रातको वासपछि आमभञ्ज्याङ पुगेका घिमिरेको ठेगाना, स्कुल, साथी सबै फेरिए पनि दिनचर्या बदलिएन। त्यहाँ पनि उसैगरी स्कुल जान्थे। बस्तुभाउ चराउँथे। डाले घाँस झार्थे।

दोस्रो खण्डमा ‘व्यापारदेखि राजनीतिसम्म’का कुरा समेटिएका छन्। घरबाट आधा घण्टा टाढा रहेको स्कुलले घिमिरेलाई व्यापार गर्न हौस्याएको कुरा यस खण्डमा छ। खाजा खान घर आउजाउ गर्दा लाग्ने एक घण्टामा घुम्ती पसलबाट व्यापार गर्न सक्छु भन्ने लागेर उनी विद्यार्थी जीवनमै व्यापारी बने। अनि उपाधि पाए, ‘फुच्चे व्यापारी’।

व्यापार बढ्न थालेपछि ‘टिफिन टाइम’मा मात्र नभई बिहान स्कुल खुल्नअघि पनि पसल खोल्थे। बेरिएको ऐँठे, पुष्टकारी, चकलेट, ललिपपलगायत खानेकुरामा विद्यार्थी झुमिन्थे। पसलमा भीड देखेर रमाउँथे। तीक्ष्ण बुद्धिका शिव व्यापारमा मात्र होइन पढाइमा पनि अब्बल थिए। कक्षामा सधैँ पहिलो हुन्थे।

मकवानपुरको मनहरी ज्यामिरेमा आफ्ना ठूला दाजुको पसलमा लाग्ने भीडले उनलाई हेटौँडा बजारमा पसल खोल्ने आत्मविश्वास दियो। ठूलो व्यापारको महत्त्वाकांक्षाले उनलाई हेटौँडाको मुख्य चोकमा किराना पसलको साहु बनायो। त्यतिखेर उनको उमेर थियो १५ वर्ष। कक्षा ९ मा पढ्थे। अध्ययनसँगै कारोबार पनि अगाडि बढिरहेको थियो। त्यो सानो उमेरमै हेटौँडामा व्यापारी भनेर चिनिन थालेका थिए। तर अहिले सम्झिँदा शिव घिमिरेलाई अनौठो लाग्छ। उनी किताबमा आफैँलाई प्रश्न गर्छन्, ‘त्यतिखेर म के थिएँ

विद्यार्थी कि व्यापारी?

व्यापारका लागि हिँड्डुल गर्दा सजिलो होस् भनेर १५ वर्षमै नागरिकता बनाए। १८ वर्षको उमेरमा बन्ने नागरिकता १५ वर्षमै बनाएर आफ्नो उमेरभन्दा तीन वर्ष जेठा भएका थिए। व्यापार र पढाइलाई सँगसँगै लग्ने प्रयास गरे पनि पछिचाहिँ सकेनन्। व्यापारमा रमाउन थालेपछि पढाइमा पूर्ण रूपमा ब्रेक लाग्यो। व्यापार भने बढ्दै गयो। किताबमा लेखेका छन्, ‘आफूले मात्र नसक्ने भएपछि कर्मचारी राखेर काम गर्न थाले। कामको व्यस्तताले घर जान नभ्याउने। पसलमै खाने, त्यही सुत्ने। करले हैन रहरले व्यापार गरेकाले पूरा ध्यान व्यापारमा थियो।’

त्यसबेला हेटौँडानजिक पर्ने भीमफेदी र चुनियाँ प्रमुख बजारका रूपमा प्रख्यात थिए। अर्को व्यापारिक गन्तव्य बन्यो, चुनियाँ। जहाँ प्रेमविवाह गरेका घिमिरेको ससुरालीको एउटा घर थियो। दामन, पालुङ हुँदै काठमाडौँ आउने बाटोमा पर्ने चुनियाँमा गोरखादेखि मान्छे किनमेल गर्न आउने रैछन्। टनाटन भीडले उनलाई चुनियाँ डोर्‍यायो।

कुखुरा, अण्डा, घिउ, कोदो, मकै, फापर, धान, चामल लिएर आउने गाउँलेले पैसा लग्दैनथे। त्यसको साटो सामान लैजान्थे। अहिलेको भाषामा काराबोर ‘बार्टर विनिमय प्रणाली’मा हुन्थ्यो। व्यापार जमेर शिव घिमिरे आफ्नै दुइटा ट्रक किन्न सक्ने भए। दमौली हुँदै काठमाडौँ, पोखरालगायत देशका विभिन्न स्थानमा सामान पठाउँथे। अब उनको व्यापार देशभरि फैलियो। पहाडको कोदो, धान, मकै काठमाडौँ पठाउँथे।

किताबमा शिव घिमिरेको प्रेम, विवाह, पारिवारिक सम्बन्ध, अंशबन्डालगायत उनका जीवनसँग जोडिएका धेरै विषय समेटिएका छन्। अंशबन्डापछि जीवनमा पूर्णविराम लागेर श्रीमती र बच्चासहित फेरि ‘शून्य’बाट जीवन सुरु गरेको लेखेका छन्।

कपडा पसलले उनलाई फेरि स्थापित गरायो। हेटौँडाको मेनरोड पीपलबोट हनुमान मन्दिरनजिक कपडा पसल खोले, ‘त्रिखण्डश्वरी इम्पोरियम’। सँगसँगै गरे गल्लाको कारोबार पनि। धान, गहुँ, मकै, कोदो, भटमास, फापर, तोरीको भण्डारण गर्न अनि बेच्नुलाई नै व्यापारीहरूले गल्ला भन्छन्। त्यसबाट पनि मनग्गे कमाए।

राजनीतिक परिवर्तनका बेला ‘मण्डले’को आरोप खेपे। ‘तर न म मण्डले थिएँ, न हुँ नै। र पनि मैले थाहै नपाएको मण्डले हुनुपरेको थियो,’ किताबमा लेखेका छन्। मान्छेले बित्थामा मण्डले भनेर जिस्काउन थालेपछि उनलाई राजनीतिमा लाग्ने झोक चल्यो।

अनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४९ सालमा मकवानपुर जिल्ला आदर्श गाउँ विकास समिति भैँसेका गाविस अध्यक्ष भए। राप्ती नदीमा झोलुंगे पुलदेखि गाउँमा बत्ती, बाटो ल्याउन सरकार र सरोकारवाला निकायसँग पहल गरे। बाटो, पुल र बत्ती गाउँमा पुर्‍याए। तर राजनीतिक जीवनले व्यापारमा असर पुर्‍याउने महसुस भएपछि उनी त्यसबाट उम्किए। राजनीतिमा पूर्णविराम लगाए।

‘पेट्रोलपम्पदेखि विद्युतीय सवारीसाधनसम्म’ शीर्षकको तेस्रो खण्डमा शिव घिमिरेका जीवनका २४ कथा छन्। जसमा पेट्रोलपम्प खोल्नेदेखि चिया बगान, हाइड्रोपावर, विद्युतीय सवारीसाधनको व्यापारसम्मका कुरा छन्। ती काम गर्दा आइपरेका समस्याको उल्लेख त्यसमा गरेका छन्। द्वन्द्वकालको पीडा पनि घिमिरेले किताबमा पोखेका छन्।

२०५६ देखि २०६० सम्म दुई कार्यकाल ‘कोशी पेट्रोलियम डिलर एसोसिएसन’ को अध्यक्ष बनेका घिमिरे पूर्वाञ्चल पेट्रालियम ढुवानी संघका संस्थापक अध्यक्ष हुन्। तीन सन्तानका बुबा उनले देशभरि फस्टाएको व्यापारबाट काठमाडौँमा प्रशस्त घरघडेरी र गाडी जोड्न सफल भए।

यस खण्डमा कोभिड-१९ को महामारीताका झेलेका चुनौतीबारे पनि लेखिएको छ। ती चुनौतीलाई अवसरमा बदल्ने अठोट पनि छ। किताबमा चौथो खण्डलाई ‘जाँदाजाँदै’ शीर्षक दिइएको छ। जसमा समस्या, सन्तुलित जीवन, शान्तिलगायत विषयमा लेखिएको छ। ‘गरे के हुँदैन!’ मा भाग्यभन्दा कर्म बलियोमा शिव घिमिरेले जोड दिएका छन्।

घिमिरेले सुनसरीको इटहरीलाई कर्मथलो बनाए। ‘मेरो जीवनका लागि धामिडाँडाले जरा बनायो, मकवानपुरले बिरुवा र सुनसरीले रूख। अनि म रूख भएपछि फैलिएँ’, उनले लेखेका छन्।

किताबको पाँचौँ खण्ड परिवार र साथीभाइका लागि छुट्याइएको छ। जसमा शिव घिमिरेकी श्रीमती, छोराछोरी र साथीहरूले उनीबारे लेखेका छन्। साथै उनका पारिवारिक र व्यावसायिक तस्बिर पनि त्यसमा छापिएिका छन्। लेखनकुञ्ज, घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित किताबको सम्पादक रेनुका आचार्य हुन्।

प्रकाशित: २० साउन २०८० ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast