काठमाडौँ- अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्दै अर्धमासिक (महिनामा दुई पटक) रूपमा तलब वितरण गर्ने निर्णय गरेको भए पनि यो व्यवस्था शिक्षकका हकमा तत्काल लागू नहुने भएको छ।
मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई नयाँ प्रणाली कार्यान्वयनका लागि तयारी गर्न निर्देशन दिएको छ। तर प्रारम्भिक चरणमा यो व्यवस्था अन्य सरकारी कर्मचारीमा परीक्षणका रूपमा लागू गरिनेछ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयका एक प्रतिनिधिका अनुसार शिक्षकहरूलाई हालको अवस्थामा समेटिने छैन। ‘यो निर्णय अहिलेलाई निजामती कर्मचारीमा मात्रै हो, शिक्षकका हकमा यो व्यवस्था लागू हुँदैन,’ उनले सोमबार हिमालप्रेससँग भने।
उनका अनुसार परीक्षणबाट प्राप्त नतिजा, प्राविधिक तयारी र व्यवस्थापकीय पक्षको मूल्यांकनपछि मात्रै शिक्षकलाई समेट्ने वा नसमेट्ने विषयमा निर्णय गरिनेछ।
हालसम्म शिक्षक तथा कर्मचारीहरूले महिनाको अन्त्यमा एकमुष्ट तलब बुझ्दै आएका छन्। नयाँ निर्णयअनुसार अन्य कर्मचारीले भने अब महिनामा दुई चरणमा तलब पाउनेछन् तर शिक्षकहरू भने पुरानै प्रणालीअनुसार मासिक रूपमा तलब बुझ्ने व्यवस्था कायम रहनेछ।



