काठमाडौँ– ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समर्पित माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गरिएको छ। वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शंकर गिरिले वानीरा सभागृहमा आयोजित एक समारोहमा भावुकलाई उक्त पुरस्कार समर्मण गरेका हुन्।
समारोहमा गिरिले ‘आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै कृत्रिम बौद्धिकतामा आधारित यन्त्रमानवको आविष्कार गरी अन्तर्राष्ट्रिय जगत् समेत नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शंकर पुरस्कार’ समर्पण गरे।
यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपैयाँ रहेका छन्। समारोहमा संस्थापक गिरिले ‘आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका धनराज गिरिलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गरे।
साथै किशोरावस्थादेखि नै समाजसेवामा सदैव जागरुक भई खास गरेर काठमाडौँ महानगरपालिकाको विकासमा मन, वचन र कर्मले समर्पित सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गरिएको छ।
यसअघि वानीरा संग्रहालयमा अवस्थित डा. गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनकी अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो।
इन्जिनियर गिरीको प्रबल इच्छाबमोजिम २०७९ साल वैशाख २० गते वानीरा फाउन्डेसनको भवन तथा संग्रहालय स्थापना भएको हो। फाउन्डेसनकी अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु, वानीरा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा.ऋषिराम शर्मा, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट वानीरा गिरिबारे मन्तव्य प्रकट भएको थियो।



