 नेपाल प्रेस युनियन काठमाडौँ शाखाले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस नेता डा. शेखर कोइराला।
                             नेपाल प्रेस युनियन काठमाडौँ शाखाले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस नेता डा. शेखर कोइराला।
                                            काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समयमा चर्चामा रहेको सुनकाण्ड त्यत्तिकै सामसुम हुन सक्ने बताएका छन्। नेताहरूकै संलग्नताका कारण त्यस्ता काण्डमा गम्भीर अनुसन्धान नहुने उनको भनाइ छ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाको प्रमाणपत्र वितरण तथा पदस्थापन कार्यक्रममा बिहीबार सम्बोधन गर्दै कोइरालाले भने, ‘भुटानी शरणार्थी प्रकरण आएको थियो। अघि बढ्यो अनि रोकियो। ललिता निवासमा पनि त्यस्तै। किन रोकिन्छ भने माथि कोही ठूलो पर्छ रोकिन्छ। सुनकाण्ड आयो, यो पनि सामसुम हुन्छ किनभने कोही न कोही इन्भल्भ हुन्छ।’
‘माथि’कै मान्छेको संलग्नता भएकाले सुनकाण्ड चलिरहेका बेला अर्को काण्ड आउने उनको दाबी छ। उनले भने, ‘अब अर्को काण्ड आउँछ हेर्नुहोला। किन यस्तो? माथिको मान्छे परेर हो।’
कोइरालाले भ्रष्टाचारका कारण देश अत्यन्तै अप्ठ्यारोमा गएको बताए। उनले भ्रष्टाचार र दण्डहीनता अन्त्य नगरे देश अराजकतामा जान सक्ने भन्दै चिन्ता व्यक्त गरे। ‘भ्रष्टाचारले देश गाँजेको छ। दण्डहीनता बढेको छ। मान्छे मार्ने व्यक्ति पनि राजनीतिक लेप लगाइदिएपछि मुक्त हुन्छ। यी कुरा नियन्त्रण नगरे देश अराजकतामा जान्छ, हामीले यस्तै संकेत पाएका छौँ’, कोइरालाले भने।
कोइरालाले भ्रष्टाचारले देशका हरेक क्षेत्रमा गाँजेकाले एकपछि अर्को प्रकरण आइरहेको बताए। उनले पछिल्लो सुन तस्करी प्रकरणले यसले नेपालको सुरक्षा नाजुक छ भन्ने देखाएको बताए। उनले भने, ‘सय किलो केही होइन, यस बीचमा कति गयो होलार?’ सुनकाण्डमा राजस्व अनुसन्धान मात्र संलग्न हुनु तर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) नहुनु अचम्मको विषय रहेको कोइरालाले बताए।
उनले कुनै गम्भीर घटना आउनेबित्तिकै शीर्ष नेता छलफलमा बस्ने तर उनीहरूले के निर्णय गर्छन् भन्ने कुरा बाहिर नआउने बताए।
नेता कोइरालाले राजस्व अनुसन्धान विभाग पहिले अर्थ मन्त्रालय मातहत रहे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय मातहत ल्याएर गलत गरेको बताए। उनले भने, ‘शेरबहादुरजीले फर्काउनुपर्छ भन्नुभएको थियो तर गर्नुभएन। अहिले प्रचण्डले फर्काउनु भएन। अब आफैँ बुझ्नुस्। सोच्दै जाऊँ कहाँ पुग्छ।’
कोइरालाले एमालेले संसद् अवरोध गरेर गल्ती गरेको टिप्पणी गरे। संसद् अवरुद्ध गरे राष्ट्रलाई कति घाटा भएको त्यो एमालेले बुझ्न जरुरी रहेको उनको भनाइ छ। ‘जति बोल्नु संसद्मा बोल्नु नि। नयाँ कुरा भए एक्सपोज गर्नु। सत्ताले पनि बोल्छ’, उनले भने।
‘सभापतिसँग मिलेको कुरा बुझेको छैन?’
कोइरालाले आफू सभापति शेरबहादुर देउवासँग मिलेको भन्ने विषयमा आफैँ अस्पष्ट रहेको बताए। ‘शेखर सभापति देउवासँग मिल्यो भनेर लेखिराखेका छन् तर केमा मिल्यो मैले बुझ्न सकेको छैन,’ कोइरालाले भने। उनले बोलाएका बेला मात्रै आफू भेट्न गएको र भेट्न आउँछु भनेर आफूले समय लिएर सभापति देउवालाई नभेटेकोसमेत दाबी गरे। ‘सभापतिले बोलाउनुभयो भने जानुपर्यो। नबोलाई म आउँदैछु भनेर म जाने गरेको छैन, जान्न पनि’, उनले भने।
कोइरालाले आफूलाई परिवार र संस्कारले गाली नगर बरू गाली खाऊ र पचाऊ भनेर सिकाएको बताए। उनले सभापति शेरबहादुर देउवासँग कुनै मतभिन्नता नरहेको दाबी गरे। तर शेरबहादुरजीले गरेको गलत कामका विरुद्ध आफूले बोलिरहेको भनाइ कोइरालाको छ। यस्तै आफू कुनै गुटको सांसद नभएर नेपाली कांग्रेसको सांसद रहेको स्पष्ट पारे।
उनले अर्को प्रसंगमा कांग्रेस नेतृत्व अलमलमा छ कि भन्ने शंका लागेको बताए। यस्तै उनले यसपटक केन्द्रीय समिति बैठक आरोपप्रत्यारोपमै टुंगिएको बताए।’गम्भीर छलफल भएन। लाइभ भएर हो कि? साथीहरूमा भोलिको नेता बन्ने चिन्ता भएर हो कि?’ कोइरालाले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 