सुन प्रकरणमा नाम जोडिएपछि माओवादी नेता पुनले मागे माफी

हिमाल प्रेस १५ साउन २०८० १७:४९ | Monday, July 31, 2023
सुन प्रकरणमा नाम जोडिएपछि माओवादी नेता पुनले मागे माफी वर्षमान पुन। फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सय किलो अवैध सुन प्रकरणमा दोषी ठहरिए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन्। सोमबार संसद्‌ भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

राजस्व अनुसन्धान विभागले शनिबार राति सुन तस्करीको आरोपमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेपछि पुनको नाम पनि यस प्रकरणमा जोडिएको छ। पुनका परिवारसँग दावाले खाना खाइरहेको तस्बिरसमेत भाइरल भएको छ।

‘८ वर्ष पहिलेको पारिवारिक खालको फोटो राखेर अहिले सँगै खाएको जस्तो देखाएको छ। त्यसमा मेरो आपत्ति छ,’ उनले भने, ‘मैले सार्वजनिक रुपमा पनि बोलेको छु। म आम जनसमुदाय र शुभचिन्तकमा भावनात्मक चोट पुगेको छ। नेताहरू पनि यसरी बेठिक मान्छेसँग संगत गर्दा रहेछन् भन्ने परेको छ। यसमा म माफी चाहन्छु।’

उनले आगामी दिनमा यसरी कोहीसँग बस्दा खाँदा ख्याल गर्ने पनि बताए। ‘राज्यको कुन निकायले छानबिन गर्ने हो गरोस्,’ उनले भने।

उनले सुन प्रकरणलगायत कुनै पनि प्रकरणमा दोषी देखिए माओवादी वा अन्य कोहि व्यक्तिलाई छोड्न नहुने पनि बताए। उनले पार्टीको पदाधिकारी बैठकमा पनि आफूले छानबिन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानबिन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

पुनले संसदीय समिति, न्यायीक समिति वा स्वतन्त्र छानबिन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताए।

प्रकाशित: १५ साउन २०८० १७:४९ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast