पार्क निर्माणमा अनियमितता गरेको आरोप : प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा

हिमाल प्रेस १२ साउन २०८० १५:५८ | Friday, July 28, 2023
पार्क निर्माणमा अनियमितता गरेको आरोप : प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा

काठमाडौँ– पार्क निर्माण अनियमिततामा छायाँनाथ रारा नगरपालिका मुगुका तत्कालीन प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। वडा नम्बर २ स्थित पार्क निर्माणमा अनियमितता भएको पाइएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उक्त मुद्दामा तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशरबहादुर रावल, तत्कालीन इन्जिनियर महेश सिंह कठायत र तत्कालीन असिस्टेन्ट सव-इन्जिनियर हस्तबहादुर मल्लसमेतले जिल्ला वन कार्यालयको स्वामित्वमा रहेको जिल्ला वन कार्यालयको कम्पाउण्डभित्रको जग्गामा जिल्ला वन कार्यालयबाट पार्क निर्माण गर्ने अनुमतिसमेत नलिई पार्क निर्माणस्थलको टुंगो नलगाई पार्क निर्माणको लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरी उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार ५०० रुपैयाँ पेस्की उपलब्ध गराएका थिए।

जिल्ला वन कार्यालयले अनुमति नदिएकोले सम्झौता बमोजिम पार्क निर्माण हुन नसक्ने अवस्था भई निर्मित संरचनाहरूसमेतबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकि उपभोक्ता समितिलाई भुक्तानी भएको पेस्की फर्छ्यौट हुन नसकेकोले उनीहरूबाट उक्त रकम हानी नोक्सानी भएको अख्तियारको ठहर छ। सरकारी रकम हानिनोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको देखिँदा निज तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जङ्ग मल्ल, तत्कालीन इन्जिनियर महेश सिंह कठायत, तत्कालीन लेखापाल रुन बहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशर बहादुर रावल र तत्कालीन असिस्टेन्ट सवइन्जिनियर हस्त बहादुर मल्लको हकमा ३८,४७,५०० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय र बिगो असुल उपर गर्न माग गरिएको छ।

प्रकाशित: १२ साउन २०८० १५:५८ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast