सांसद शर्मालाई कारबाही गर्ने कांग्रेस प्रवक्ताको चेतावनी

हिमाल प्रेस १० साउन २०८० २१:४१ | Wednesday, July 26, 2023
सांसद शर्मालाई कारबाही गर्ने कांग्रेस प्रवक्ताको चेतावनी

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जथाभाबी बोलेको भन्दै सांसद सुनिल शर्मामाथि कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउने क्रममा महतले बुधबार उक्त चेतावनी दिएका हुन्।

शर्माले आफ्नो अस्पतालमा स्वास्थ्य बिमाको व्यवस्था गर्न दबाब दिएको तर आफूले नियमसम्मत हुने भनेपछि जथाभाबी बोल्दै हिँडेको आरोप मन्त्री महतको छ। सांसद शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक हुन्।

शर्माले बुधबार प्रतिनिधिसभाको बुधवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले विमानस्थलबाट भएको सुन तस्करीलाई लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए।

सुन तस्करी प्रकरणमा मन्त्री महतको समेत संलग्नता रहेको आरोप शर्माको छ। महतले भने शर्माले अराजकता र अनुशासनहीनता प्रस्तुत गरेको बताए। उनले भने, ‘उहाँको हस्पिटल छ। स्वास्थ्य बिमा बोर्ड भन्ने स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना छ। हामीले पनि बिमाको व्यवस्था पाउनुपर्छ भन्ने उहाँको माग थियो। मैले उहाँसँग बिमा बोर्डले निर्णय गर्छ, तैपनि यो समान हिसाबले कसैलाई दिने, कसैलाई नदिने नहोस् भनेको थिएँ।’

आफूले भनिदियो भने तुरुन्तै भइहाल्छ भन्ने शर्माको दाबी रहेको महतले सुनाए। ‘म राणाकालको शासक होइन कि बोल्दै भइहाल्छ, त्यसको प्रक्रिया हुन्छ। संस्थागत संरचना छ। त्यो नहुने बित्तिकै उहाँ भड्केर जथाभाबी हिँड्नुभएको हो। उहाँमाथि कारबाही हुनेछ।’

प्रकाशित: १० साउन २०८० २१:४१ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast