द्वन्द्वपीडित परिवारलाई न्याय दिन सरकार सकारात्मक : प्रधानमन्त्री देउवा

हिमाल प्रेस २४ मंसिर २०७९ १७:४७ | Saturday, December 10, 2022
द्वन्द्वपीडित परिवारलाई न्याय दिन सरकार सकारात्मक : प्रधानमन्त्री देउवा फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितलाई न्याय दिन सरकार सकारात्मक रहेको बताएका छन्। शनिबार काठमाडौँमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मन्तव्य राख्दै देउवाले यस्तो बताएका हुन्।

द्वन्द्वपीडितहरूको माग सम्बोधन गरी पीडित परिवारलाई न्याय उपलब्ध गराइने उनले प्रतिबद्धता व्यक्त गरे। ‘मानवअधिकारको विशेष संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित र पीडित परिवारलाई यथाशीघ्र न्याय गर्न सरकार सकारात्मक र सचेत छ।’

राष्ट्रिय मानवअधिकार आयोगको कामको प्रशंसा गर्दै आयोगका समस्या र गुनासोको सम्बोधन गर्ने आश्वासन पनि दिए। कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले सशस्त्र द्वन्द्वकालीन पीडितलाई न्याय दिने विषय अनिश्चित बन्दै गएको जानकारी गराए।

‘संक्रमणकालीन न्यायका संयन्त्रहरूलाई अधिकार सम्पन्न बनाउने कार्यमा सर्वोच्च अदालतको आदेश, यस आयोगको सिफारिस र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल कानुनी व्यवस्था हुन नसक्दा सशस्त्र द्वन्द्वकालीन पीडितहरूको न्यायको विषय अनिश्चित बन्दै भएको छ,’ उनले भने। सन् १९४८ को डिसेम्बर १० का दिन मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी भएको थियो। सोही घोषणा पत्र जारी भएको दिन नेपालमा पनि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ।

प्रकाशित: २४ मंसिर २०७९ १७:४७ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast