काठमाडौँ- संयुक्त अरब इमिरेट्स(यूएई ए)माथि जित निकाल्दै नेपाली क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा ह्याट्रिक हारबाट जोगिएको छ। यसअघि पाकिस्तान‘ए’सँग ४ विकेट र भारत ‘ए’सँग ९ विकेटकाे लज्जास्पद हार व्यहाेरेकाे नेपाली टिमले बुधबार यूएईसँग ३ विकेटले जितेकाे हाे।
नेपालकाे जितमा कुशल भुर्तेलकाे सानदार अलराउण्ड प्रदर्शन रह्याे। यूएईविरुद्ध बलिङमा ६ विकेट लिएका भुर्तेलले ब्याटिङमा ९ चौका र ४ छक्काकाे मद्दतमा ७१ रन बनाए। अर्का ओपनर अर्जुन साउद डकआउट भए। भुर्तेल र देव खनालले नेपालका लागि राम्राे पार्टनर्सिप गरे। खनाल र सन्दीप जोराले २४/२४ रन बनाए। खनाल र जाेराकाे विकेटपछि नेपालकाे लगतातार विकेट गए।
गुल्सन झाले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। प्रतिश जीसी ८, कुशल मल्ल २ र पवन सारफ शून्य रनमा आउट भए। श्रीलंकाको कोलोम्बोमा सम्पन्न खेलमा यूएई एका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको यूएई ए ४४ ओभरमा १५७ मा अलआउट भएको थियो। श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए। नेपालले आजको खेलमा जित निकाले पनि इमर्जिङ कपबाट यसअघि नै बाहिरिसकेकाे छ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। यूएई ए यसअघि भारत एसँग ८ र पाकिस्तान एसँग १ सय ८४ रनले पराजित भएकाे थियो।
समूह विजेताका लागि अहिले भारत र पाकिस्तानबीच खेल भइरहेकाे छ। यस प्रतियोगितामा ६ टोलीकाे सहभागिता छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिनेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ। सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन्। फाइनल खेल २३ जुलाइमा हुनेछ।